काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नका लागि नीतिगत सुधार र समग्र राज्यको सोच (माइन्डसेट) परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ।
आज सिएनआई (नेपाल उद्योग परिसंघ) का नवनिर्वाचित पदाधिकारीहरूसँग आफ्नो निजी निवास खुमलटारमा भेट गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। भेटका क्रममा अध्यक्ष प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।उहाँले राज्यले निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिने गरी नीतिगत सुधारको आवश्यकता औंल्याउनुभयो। “निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना तयार नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन,” उहाँले भन्नुभयो, “राज्यले दुःख दिने नभई सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ।”
सिएनआईका पदाधिकारीहरूले पनि मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रले खेलेको भूमिकाको चर्चा गर्दै अध्यक्ष दाहाल प्रधानमन्त्री हुँदा निजी क्षेत्रसँगको सहकार्यको वातावरण सशक्त रहेको स्मरण गराएका थिए।
२०८२ श्रावण ५, सोमबार