+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री ओली: विवादित मन्त्री हटाएर नयाँ ल्याउने संकेत

अत्रिदेव खबर
२०८२ अषाढ ३२, बुधबार

काठमाडौं :   प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गर्ने तयारीमा लागेका छन्। उनीनिकट नेताहरूका अनुसार प्रधानमन्त्रीले हालका केही मन्त्रीहरूलाई हटाएर नयाँ अनुहारलाई स्थान दिने गृहकार्य गरिरहेका छन्।हाल मन्त्रिपरिषद्मा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (अशोक राई), लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरू सामेल छन्।

हालै, ‘घुस डिल’ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपछि मंगलबार नै एमालेकी राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई मन्त्री नियुक्त गरिसकिएको छ।बालुवाटारनिकट एक नेताले  बताएअनुसार, जनता समाजवादी पार्टी (जसपा) का नवलकिशोर साह सुडीलाई हटाउने तयारी भइरहेको छ। उनको स्थानमा कसलाई पठाउने भन्नेबारे टुंगो लागिसकेको छैन, तर सोही पार्टीबाट रञ्जु झा मन्त्री बन्ने कसरतमा छिन्। जसपाले दुई महिनाअगाडि नै पार्टीबाट पठाएका दुई जना मन्त्री फेर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको ती नेताको भनाइ छ।

“बुधबार नै पनि केही मन्त्री हेरफेर हुन सक्छन्। प्रधानमन्त्री तयारीमा हुनुहुन्छ,” ती नेताले भने, “सम्भवतः बुधबार ३ बजे भगवती न्यौपानेसँगै थप केही मन्त्रीको शपथ होला।”प्रधानमन्त्री ओलीले पदभार ग्रहण गरेको मंगलबार एक वर्ष पूरा भएको छ। तर, मन्त्रिपरिषद्मा रहेका केही मन्त्रीहरू विवादित बन्दै गएको र केहीको कार्यसम्पादन पनि कमजोर देखिएकाले हेरफेर गर्ने निष्कर्षमा ओली पुगेको ती नेताले बताए।

कांग्रेस र एमाले नेतृत्व यस विषयमा छुट्टाछुट्टै परामर्शमा रहेको कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेताको भनाइ छ। “प्रधानमन्त्रीले सरप्राइज दिने गर्नुभएको छ, उहाँले भित्रभित्रै तयारी गरिसक्नुभएको पनि होला,” ओलीनिकट अर्का नेताले भने।यसैबीच, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि कांग्रेस र एमाले नेतृत्वले छलफल गरेको छ। सोमबार राति पनि त्रिपक्षीय छलफल भएको थियो। प्रधानमन्त्रीले जसपा नेपाललाई सरकारमा भित्र्याएर राष्ट्रिय सभामा सत्तापक्षको बहुमत पुर्‍याउने र भूमि विधेयक सहज रूपमा पारित गर्ने प्रयास गरिरहेको बुझिएको छ।

एक वर्ष पूरा भएको अवसरमा एकाधबाहेक सबै मन्त्रीको सेट नै फेर्नुपर्ने भन्दै कांग्रेस र एमाले दुवै प्रमुख सत्ता साझेदारभित्र नेताहरूको दौडधुप पनि चलिरहेको छ। तर, कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीले हटाउन चाहेका कांग्रेस मन्त्रीहरूका हकमा अझै सहमति जनाइसकेका छैनन्। त्यसैले, बुधबारसम्म जति सकिन्छ, सम्बन्धित दलसँगको सहमतिमा ओली मन्त्री हेरफेर गर्ने गृहकार्यमा रहेको उनीनिकट नेताको भनाइ छ।

२०८२ अषाढ ३२, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ ३२, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ