पोखरा : राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन्। ‘घुस डिल’ अडिओ प्रकरणमा राजेन्द्रकुमार गुप्ताले राजीनामा दिएपछि रिक्त भएको यो पदमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई नियुक्त गरेका हुन्।
नेकपा एमालेले रिक्त पदका लागि न्यौपानेलाई अगाडि सारेको हो। रोचक कुरा के छ भने, स्थानीय तह निर्वाचनमा तनहुँको भानु नगरपालिकाको मेयरमा झिनो मतान्तरले पराजित भएकी न्यौपानेको राष्ट्रिय सभाको कार्यकाल अब करिब सात महिना मात्र बाँकी छ। कार्यकालको अन्तिम समयमा आएर उनले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएकी छन्।
न्यौपाने २०७६ मा राष्ट्रिय सभामा निर्वाचित भएकी थिइन्। त्यसबेला उनले ९,०६४ मत प्राप्त गरेकी थिइन् भने नेपाली कांग्रेसका उदयराज गौली ९,५३८ मतसहित विजयी भएका थिए। राष्ट्रिय सभामा महिलातर्फ ३,३६६ मतभारसहित निर्वाचित भएकी न्यौपानेसँगै गण्डकी प्रदेशबाट तत्कालीन नेकपाका वरिष्ठ उपाध्यक्ष (हाल माओवादी केन्द्र) नारायणकाजी श्रेष्ठ पनि निर्वाचित भएका थिए। सो समयमा एमाले र माओवादीबीच एकीकरण भएकाले दुवै जना एकै दलबाट प्रतिनिधित्व गर्थे।
राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतकको भूमिकामा रहेकी न्यौपाने अनेरास्ववियुमार्फत राजनीतिमा प्रवेश गरेकी हुन्। गोर्खा क्याम्पसको विद्यार्थी जीवनदेखि नै सक्रिय राजनीतिमा रहेकी उनले अनेमसंघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, नेकपा एमाले तनहुँको जिल्ला कमिटी सदस्य, सचिव हुँदै चितवनमा सम्पन्न एमालेको १०औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा समेत निर्वाचित भएकी थिइन्। लामो राजनीतिक अनुभव र पार्टीभित्रको सक्रियताका कारण कार्यकालको अन्त्यतिर भए पनि उनले मन्त्री बन्ने अवसर पाएकी हुन्।
२०८२ अषाढ ३२, बुधबार