+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लेन्डेखोलाको बाढीले २५० मेगावाट विद्युत् उत्पादन ठप्प, रसुवागढी जलविद्युत् आयोजनामा ठूलो क्षति

अत्रिदेव खबर
२०८२ अषाढ २७, शुक्रबार

काठमाडौं: नेपाल र चीन जोड्ने नाका क्षेत्रस्थित लेन्डेखोलामा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोट जिल्लाबाट उत्पादन हुने करिब २५० मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ। नेपाल विद्युत् प्राधिकरण र यसअन्तर्गतका विभिन्न जलविद्युत् आयोजनाहरूमा बाढीले ठूलो क्षति पुर्‍याउँदा राष्ट्रिय ग्रिडमा विद्युत् आपूर्तिमा गम्भीर असर परेको छ।
बाढीले क्षति पुर्‍याएका प्रमुख आयोजनाहरूमा रसुवागढी जलविद्युत् आयोजना, त्रिशूली थ्री ‘ए’, चिलिमे हाइड्रोपावर, र बेनी हाइड्रोपावर रहेका छन्। यी आयोजनाहरूबाट उत्पादित कुल २५० मेगावाट विद्युत् तत्कालका लागि बन्द भएको प्राधिकरणले जनाएको छ।
क्षतिग्रस्त आयोजनामध्ये १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा सबैभन्दा बढी क्षति पुगेको छ।

आयोजनाका स्टेसन हेड सन्तोष अधिकारीका अनुसार, बाढीको पानी सिधै आयोजनाको पानी निकास हुने सुरुङ (टेलरेस टनेल) बाट पावर हाउसमा पसेपछि सिंगो पावर हाउस जलमग्न भएको छ। यसका साथै, हेडबक्सलगायत आयोजनाका अन्य महत्त्वपूर्ण संरचनाहरूमा पनि ठूलो क्षति पुगेको छ। यसले गर्दा आयोजनालाई पुनः सञ्चालनमा ल्याउन केही समय लाग्ने देखिएको छ।

अन्य आयोजनाहरूमध्ये त्रिशूली थ्री ‘ए’ ६० मेगावाट, चिलिमे हाइड्रोपावर २१ मेगावाट, र बेनी हाइड्रोपावर १९ मेगावाट क्षमताका छन्। यी आयोजनाहरूमा पुगेको क्षतिको पूर्ण विवरण आउन बाँकी रहे पनि तत्कालका लागि उत्पादन रोकिएको छ।
यस घटनाले नेपालको ऊर्जा सुरक्षामाथि प्रश्न खडा गरेको छ। विशेषगरी बर्खायाममा आउने यस्ता प्राकृतिक विपत्तिहरूले जलविद्युत् आयोजनाहरूलाई बारम्बार क्षति पुर्‍याउँदा विद्युत् आपूर्तिमा अस्थिरता आउने गरेको छ। बाढीले पुर्‍याएको क्षतिको मूल्यांकन गरी मर्मत सम्भारको काम कहिलेबाट सुरु हुन्छ र विद्युत् उत्पादन कहिलेसम्म पुनः सुरु हुन्छ भन्नेबारेमा नेपाल विद्युत् प्राधिकरणले विस्तृत जानकारी सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

 

२०८२ अषाढ २७, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ २७, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ