रसुवा : रसुवागढीस्थित भोटेकोसी नदीमा मंगलबार आएको अचानकको बाढीमा परी बेपत्ता भएका २० जनामध्ये अहिलेसम्म एक जनाको मात्र शव पहिचान हुन सकेको छ। रसुवा जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले आज (बिहीबार) बिहान १० बजे दिएको जानकारीअनुसार, चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा मृत भेटिएका प्रहरी सहायक निरीक्षक लाल बहादुर श्रेष्ठको मात्र सनाखत भएको हो।
उनको शवसहित हालसम्म ५ वटा शव र चार जनाको मानव अंग फेला परेको अधिकारीले बताएका छन्। फेला परेका सबै शव तथा मानव अंग काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ र तिनीहरूको पहिचान गर्ने प्रयास जारी छ।
बाढीमा बेपत्ता भएकामध्ये अझै १९ जनाको अवस्था अज्ञात रहेको छ। बेपत्ता हुनेहरूमा २ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना नेपाली नागरिक छन्।
बाढीले भौतिक पूर्वाधारमा पनि ठूलो क्षति पुर्याएको छ। नेपाल-चीन सीमा क्षेत्रको मितेरी पुल, २४ वटा कन्टेनर, ६ वटा ट्रक र ३५ वटा इभी (इलेक्ट्रिक भेहिकल) गाडी बगाएको छ। यसका साथै, धुन्चेदेखि टिमुरे जाने सडक पनि अवरुद्ध भएको छ। रसुवागढी हाइड्रोको ड्याम र भन्सार कार्यालय रसुवाको यार्डमा पनि क्षति पुगेको छ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सञ्जय सिंह थापाका अनुसार, बेपत्ताहरूको खोजीका लागि विभिन्न जिल्लाका नदी तटीय क्षेत्रहरूमा खोजी कार्य जारी राखिएको छ। यस घटनाले रसुवागढी क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ। बेपत्ताहरूको खोजी कार्य जारी रहे पनि, अझै धेरैको अवस्था अज्ञात रहँदा परिवारजनमा चिन्ता बढेको छ।
२०८२ अषाढ २६, बिहिबार