+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रसुवामा भोटेकोशीको बाढीले ठूलो जनधनको क्षति, १७ बेपत्ता र मितेरी पुल ध्वस्त

अत्रिदेव खबर
२०८२ अषाढ २४, मंगलबार

रसुवा  : रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२, रसुवागढीमा आज बिहान आएको भोटेकोशी नदीको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। चीनतर्फको भारी वर्षाका कारण मंगलबार बिहान नदीमा एक्कासी ठूलो बाढी आएको स्थानीय प्रशासनले जनाएको छ।

रसुवाका प्रहरी प्रमुख डीएसपीका अनुसार बाढीमा परी तीन जना प्रहरीसहित झण्डै १७ जना बेपत्ता भएका छन्। यद्यपि, बाढीमा फसेका ९ जनाको भने सकुशल उद्धार गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले रसुवागढीको भन्सार कार्यालयको यार्डबाट दुई जना प्रहरी र सात जना स्थानीयलाई उद्धार गरेको हो।

बाढीले नेपाल र चीन जोड्ने मितेरी पुललाई बीच भागबाटै भाँचिदिएको छ, जसका कारण आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ। प्रहरीका अनुसार रसुवागढी टिमुरेस्थित भन्सार यार्डमा राखिएका चारवटा मालबाहक कन्टेनर र टिमुरेस्थित चार्जिङ स्टेशनमा रहेका आठवटा विद्युतीय गाडी (ईभी) बाढीले बगाएको छ। यसका साथै, भन्सार कार्यालय रसुवाको यार्डमा रहेका ९ वटा लोड गरिएका कन्टेनर डिब्बा पनि बाढीले बगाएको छ। बाढीले रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुगेको प्रहरीले जनाएको छ।

गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानीस्थित पासाङल्हामु राजमार्ग अन्तर्गत स्याफ्रुबेशी-रसुवागढी सडक खण्ड पनि बाढीले कटान गरेको छ। सडकमा ठाउँठाउँमा पहिरो झरेकाले अवरुद्ध बनेको छ। सशस्त्र प्रहरी बलले नदीमा पानीको बहाव अझै बढिरहेकोले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। अहिले टिमुरेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक प्रकाश पाण्डेको कमान्डमा २० जनाको टोली घटनास्थलमा खटिएको छ।

२०८२ अषाढ २४, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ २४, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ