काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीबीच बालुवाटारमा करिब एक घण्टा लामो भेटवार्ता भएको छ। यो भेटवार्ता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नाउपाका मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि उत्पन्न भएको परिस्थितिका बीच भएको हो।
भेटमा चौधरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले विनाकारण आफ्ना मन्त्रीलाई बर्खास्त गरेकोमा प्रधानमन्त्री ओलीसँग असन्तुष्टि व्यक्त गरे। मन्त्री बर्खास्त भएपछि नाउपाले सुदूरपश्चिम प्रदेश र संघीय सरकार दुवैबाट समर्थन फिर्ता लिएको विषयमा पनि उनीहरूबीच छलफल भएको रेशम चौधरीको सचिवालयले जनाएको छ। स्रोतका अनुसार, “दिउँसो सवा १२ बजेदेखि उहाँहरूबीच करिब एक घण्टाभन्दा बढी छलफल भएको थियो। पछिल्लो राजनीतिक अवस्था र सुदूरपश्चिम प्रदेशको मन्त्री बर्खास्तलगायतका विषयमा छलफल भएको हो।” नाउपाले शाहको सरकार गठनमा महत्त्वपूर्ण भूमिका खेलेको भए पनि अन्यायपूर्ण ढङ्गले मन्त्रीलाई हटाइएको भन्दै तत्काल सरकारबाट समर्थन फिर्ता लिएको चौधरीले बताए।
प्रधानमन्त्री ओलीले यस विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्ने आश्वासन दिएको चौधरीको सचिवालयले जानकारी दिएको छ। चौधरीको निकट स्रोतका अनुसार, “प्रधानमन्त्रीज्यूले पनि देउवासँग कुरा गर्छु भन्नुभएको छ। उहाँ (रेशम) ले पनि सभापति देउवालाई भेट्ने कार्यक्रम रहेको छ। देउवालाई भेटेपछि थप विषय अगाडि बढ्छ।”
गत शुक्रबार नाउपाले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने शनिबार संघीय सरकारबाट पनि समर्थन फिर्ता लिने निर्णय गरेको थियो। नाउपाका तर्फबाट राज्यमन्त्री रहेका अरुण चौधरीले आइतबार राजीनामा दिने बताइए पनि प्रधानमन्त्री राति अबेर आएकाले राजीनामा बुझाइएको थिएन।
यो भेटवार्ताअघि देउवाको सन्देश बोकेर मुख्यमन्त्री शाहले बर्दियामा रेशम चौधरीलाई भेटेका थिए। त्यतिबेला चौधरीले सत्ता समीकरणको छलफल केन्द्रमै हुने बताएका थिए। यसैअनुसार, ओलीलाई भेटेपछि चौधरीले अब देउवालाई भेट्ने तयारी गरेका छन्। यो भेटघाटले नेपाली राजनीतिमा थप अस्थिरता ल्याउने सम्भावना बढेको छ।
२०८२ अषाढ २३, सोमबार