काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको एक दिनपछि बुढानीलकण्ठस्थित देउवा निवासमा यो भेट भएको हो।
मुख्यमन्त्री शाहका प्रेस संयोजक डम्मर बमले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको जानकारी दिए। मुख्यमन्त्री शाहले बिहीबार नाउपाका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश दुवैमा समर्थन फिर्ता लिने घोषणा गरेको थियो। सुदूरपश्चिम प्रदेशमा शुक्रबार नाउपाले समर्थन फिर्ता लिएको हो भने संघमा समर्थन फिर्ता लिनेबारे आइतबार बिहान १० बजे संसदीय दलको बैठक बस्दैछ।मुख्यमन्त्री शाहले देउवालाई मन्त्री बर्खास्त गर्नुको कारणसहित पछिल्लो घटनाक्रमबारे जानकारी गराएका थिए।
सभापति देउवाले मुख्यमन्त्री शाहलाई देखिएका समस्याहरू वार्ता र संवादमार्फत समाधान गर्न सुझाव दिएका छन्। उनले नाउपासँग संवाद गरी रिक्त रहेको मन्त्रालयमा नाउपाबाटै मन्त्री बनाउने गरी अघि बढ्न पनि मुख्यमन्त्रीलाई सल्लाह दिए। सुदूरपश्चिम प्रदेशमा नाउपाका ७ सांसद छन्। नाउपाले समर्थन फिर्ता लिँदैमा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने वा सरकार ढल्ने अवस्था तत्काल नरहे पनि, नाउपालाई साथमै लिएर अघि बढ्न देउवाले मुख्यमन्त्रीलाई सुझाएको निकट स्रोतको भनाइ छ। मुख्यमन्त्री शाहले पनि नाउपासँग छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता देउवालाई जनाएका थिए।
मुख्यमन्त्री शाह शनिबार बिहानै देउवालाई भेट्न काठमाडौँ पुगेका थिए। भेटमा सरकारका गतिविधि र बजेट पारित लगायतका विषयमा पनि कुराकानी भएको थियो।
२०८२ अषाढ २१, शनिबार