+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रधानमन्त्री ओलीको युवा संघलाई निर्देशनः ’युवा भ्रमित भए परिवर्तन सुस्त हुन्छ’

अत्रिदेव खबर
२०८२ अषाढ ९, सोमबार

ललितपुर: प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवाहरू भ्रमित भएमा देशमा परिवर्तन र अग्रगमनको गति सुस्त हुने बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाहरूले व्यक्तिको नभई सही विचार र नेतृत्वको पक्षपोषणमा लाग्नुपर्नेमा जोड दिएका हुन् ।

प्रधानमन्त्री ओलीले युवा संघको काँधमा असाधारण जिम्मेवारी रहेको बताउँदै आगामी स्थानीय तहको निर्वाचनसम्म यस कमिटीको नेतृत्व रहने स्मरण गराए । उनले भने, “असाधारण सक्रियताका साथ काम गरोस्, नयाँ इतिहास कायम राखोस्।” उनले युवा सङ्घलाई सामाजिक न्याय, राष्ट्रिय हित, रक्षा, सुशासन र वैज्ञानिक दृष्टिकोणजस्ता एमालेका नीतिहरूप्रति प्रतिबद्ध सङ्गठनका रूपमा उभ्याउन निर्देशन दिए । साथै, वैचारिक हिसाबले स्पष्ट र साङ्गठनिक हिसाबले सुदृढ भई आवश्यकता परेका बेला देश र पार्टीका पक्षमा जुझारु रूपमा आन्दोलन गर्न सक्ने योजना बनाउन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले विपक्षीहरूले फैलाएका भ्रमपूर्ण प्रचारको खण्डन गर्दै युवाहरू सही बाटोका पछि लाग्न र व्यक्तिका पछि नलाग्न सुझाव दिए । उनले सही ढंगले नेतृत्व गर्न सक्ने व्यक्तिप्रति युवाहरू असहिष्णु हुनु नहुने बताउँदै इनोभेटिभ तरिकाले नयाँ उपलब्धि हासिल गर्न अग्रसर हुन आह्वान गरे । “युवाहरू सही बाटोमा अघि बढेमा देश सही बाटोमा अघि बढ्छ,“ उनले भने, “युवाहरूलाई भ्रममा पार्न वा शिथिल पार्ने काम भएमा परिवर्तन र अग्रगमन सुस्त गतिमा अगाडि बढ्न पुग्छन्।“

पार्टी एकीकरण गरेर नेकपा बनाएको तर विभाजन गराइएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्रीले आफूहरू मजबुत हुन सक्नुमा सही विचार र सही नेतृत्व नै प्रमुख कारण रहेको स्पष्ट पार्नुभयो। उनले एमालेसँग पार्टीलाई जस्ताको तस्तै बनाएर अघि बढ्ने सामथ्र्य (रिजिलेन्स) रहेको दाबी गरे ।

प्रधानमन्त्री ओलीले ‘अर्थविनाको युवा’ भनेर उचाल्ने प्रवृत्तिप्रति सचेत गराउँदै जहाँ पनि युवा मात्रै भनेर नहुने, कुन तहसम्म कसरी युवाले के गर्छ भन्ने कुरा महत्वपूर्ण हुने बताए। उनले युवाहरू दम्भी र घमण्डी नभई क्षमतावान, विनयी र शालिन हुनुपर्नेमा जोड दिए । “कसैले गालामा पिट्न आएमा ओम शान्ति भनेर चाँही बस्दैनन्,” उनले भने, “त्यसकारण युवा सङ्घले अन्याय सहँदैन र अन्याय गर्दैन भन्ने बुझाउन सक्नुपर्छ।”

अन्तमा, प्रधानमन्त्री ओलीले युवा सङ्घ जनताको स्वाभिमानको मजबुत किल्ला भएकाले यसलाई कसैले भत्काउन नसक्ने स्पष्ट गर्दै युवा सङ्घ समग्र सामाजिक क्रियाकलाप, जागरण र देशभक्तिपूर्ण भावको नायक भएको बताए ।

२०८२ अषाढ ९, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ ९, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ