नवलपरासी :पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१, विनयी खोलामा आएको बाढीले गए राति यात्रुवाहक बस बगाएको छ।
काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बसलाई विनयी खोलाको नयाँ डाइभर्सनबाट गुडिरहेका बेला एक्कासि आएको बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए।प्रहरी निरीक्षक तिमिल्सेनाका अनुसार, बस बगाएको खबर पाउने बित्तिकै तत्काल एक्साभेटरको सहायताले उद्धार कार्य सुरु गरिएको थियो। बसमा रहेका तीन शिशुसहित ३८ जना यात्रुको सकुशल उद्धार गर्न सफल भएको उनले बताए।
निरन्तर पानी परिरहेका कारण हालसम्म बसलाई खोलाबाट निकाल्न सकिएको छैन। बाढीले बगाएका यात्रुको सामानको क्षतिको विवरण भने आउन सकेको छैन।रातभर परेको पानीका कारण नारायणघाट-बुटवल सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ। विशेषगरी दाउन्ने क्षेत्रमा सडक हिलाम्य भएकाले सवारीसाधन गुड्न सकेका छैनन्। प्रहरी निरीक्षक तिमिल्सेनाले यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छन्।
२०८२ अषाढ ६, शुक्रबार