रूपन्देही : लगातारको वर्षाका कारण पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ। विनयी खोलामा पानीको सतह बढेर डाइभर्सनमा क्षति पुगेको छ भने दुम्कीबास-दाउन्ने खण्डमा पर्ने विश्वकर्मा मन्दिर र झ्युखोलामा सडक चिप्लो भई सवारी साधन फस्ने र चिप्लिने समस्या देखिएकाले आवागमन पूर्ण रूपमा प्रभावित बनेको हो।
जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सूचना अधिकारी मधु नेपालले बिहीबार एक सूचना जारी गर्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेका छन्।
वैकल्पिक मार्गहरू
पूर्वबाट पश्चिम जाने सवारी साधनका लागि: नारायणगढबाट मुग्लिङ, पोखरा र स्याङ्जा हुँदै बुटवलतर्फ जानुपर्नेछ।
काठमाडौँबाट पश्चिम जाने सवारी साधनका लागि: मुग्लिङ-पोखरा-स्याङ्जा हुँदै बुटवलको बाटो प्रयोग गर्नुपर्नेछ।
पश्चिमबाट पूर्व आउने सवारी साधनका लागि: बुटवलबाट स्याङ्जा, पोखरा र मुग्लिङ हुँदै यात्रा तय गर्नुपर्नेछ।
साना सवारी साधनका लागि: अवस्था हेरेर कालिगण्डकी करिडोर अन्तर्गतको गैँडाकोट-पिपलडाँडा सडक खण्ड प्रयोग गर्न सकिनेछ।
बुटवल-नारायणगढ सडक खण्डको दाउन्नेको उकालोमा सडक निर्माण कार्य बाँकी रहेकाले पनि समस्या थपिएको हो। यात्रुहरूलाई यात्रा गर्नुअघि ट्राफिक अपडेटका लागि सम्बन्धित निकायमा सम्पर्क गर्न वा वैकल्पिक मार्गहरू प्रयोग गर्न प्रहरीले विशेष आग्रह गरेको छ।

२०८२ अषाढ ५, बिहिबार