+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालमा वायु प्रदूषण: समस्या, प्रभाव र समाधान

अत्रिदेव खबर
२०८२ अषाढ ४, बुधबार

काठमाडौं : काठमाडौं उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रमा बर्खायामबाहेकका समयमा वायु अत्यधिक प्रदूषित हुने गरेको छ। यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै औसत आयु घटाउने र मृत्युदर बढाउने गरेको एक नयाँ प्रतिवेदनले देखाएको छ।

नेपाल सरकार, विश्व बैंक, कोरिया र स्वीस सरकारको सहयोगमा विश्व बैंकको देशीय कार्यालयले मंगलबार सार्वजनिक गरेको ‘नेपालमा स्वच्छ वायुः लाभ, प्रदूषण स्रोत र समाधान’ प्रतिवेदनमा स्वच्छ हावामा सास फेर्न पाउने मानवको नैसर्गिक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ। प्रतिवेदन सार्वजनिक गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसहित वातावरण संरक्षणका क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिले नेपालमा मृत्यु र अपाङ्गताको जोखिम बढाउने प्रमुख कारक वायु प्रदूषण भएको बताए।

विश्व बैंकको देशीय कार्यालयका अनुसार, काठमाडौं उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्र वायु प्रदूषणका जोखिमपूर्ण स्थान हुन्। वायु प्रदूषणले नेपालीको औसत आयु तीन वर्ष चार महिनाले घटाउने गरेको तथा वार्षिक रूपमा २६ हजारको हाराहारीमा मृत्यु निम्त्याउने जोखिम बढाएको छ। मानव स्वास्थ्यका अतिरिक्त, वायु प्रदूषणले श्रम उत्पादकत्व, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई पनि नकारात्मक प्रभाव पारेको छ।

प्रतिवेदनमा वायु प्रदूषणका प्रमुख कारकहरूका रूपमा डिजेल र पेट्रोलबाट सञ्चालन हुने सवारीसाधन, इँटाभट्टा, प्लाष्टिकलगायत फोहोर बाल्ने प्रवृत्ति, बाली उठाइसकेपछि माटोको उर्वराशक्ति कायम रहने विश्वासमा आगो बाल्ने प्रवृत्ति, सडकको धुलो र डढेलोलाई औंल्याइएको छ।

मन्त्री ठकुरीले स्वच्छ हावामा सास फेर्न पाउने हरेक नागरिकको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। वायु प्रदूषण कम गर्न विद्युतीय सवारीसाधनको उपयोगका साथै कलकारखानामा पनि नवीकरणीय ऊर्जाको अधिक प्रयोगमा जोड दिइएको उनले जानकारी दिए। साना तथा मझौला उद्योगका साथै घरायसी प्रयोजनमा पनि विद्युतीय चुलो र अन्य उपकरणको प्रयोग प्रवर्द्धन गर्न सरकारले नीतिगत व्यवस्था गरेको छ।

नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक डेभिड सिस्लेनले नेपालीको स्वास्थ्य र समृद्धिका निम्ति स्वच्छ हावा अपरिहार्य भएकाले यसको सुनिश्चितता तथा वायुको गुणस्तर सुधारका निम्ति नेपाल सरकारले गर्ने प्रयासमा विश्व बैंकले हरसम्भव सहयोग गर्ने बताए।

२०८२ अषाढ ४, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ ४, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ