+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालले आजदेखि बंगलादेशमा व्यावसायिक रूपमा बिजुली निर्यात सुरु गर्यो

अत्रिदेव खबर
२०८२ अषाढ १, आईतबार

काठमाडौं : नेपालले आज (आइतबार) देखि व्यावसायिक रूपमा बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात सुरु गरेको छ। गएराति १२ बजेदेखि नेपाल विद्युत् प्राधिकरणले आगामी पाँच महिनाका लागि बिजुली पठाउन सुरु गरेको हो।

गत वर्ष कात्तिक ३० गते एक दिनका लागि परीक्षण निर्यात गरिएको थियो। अब भने आजदेखि आगामी कात्तिक २९ गते (१५ नोभेम्बर) सम्म हरेक दिन ४० मेगावाटका दरले बिजुली बंगलादेश निर्यात हुने प्राधिकरणले जनाएको छ। नेपालबाट निर्यात गरिएको यो बिजुली मुजफ्फरपुरदेखि भारतको प्रसारणलाइनमार्फत बेहरामपुर–भेडामारा ४०० केभी प्रसारणलाइन बाट बंगलादेश पुग्नेछ। गत असोज १७ गते नेपाल, भारत र बंगलादेशबीच दैनिक ४० मेगावाट बिजुली भारतीय प्रसारणलाइन हुँदै बंगलादेश निर्यात गर्ने गरी त्रिपक्षीय सम्झौता भएको थियो। सोही सम्झौताअनुसार सबै प्रक्रिया पूरा गरी आजदेखि व्यावसायिक रूपमा बिजुली पठाउन सुरु गरिएको हो।

गत कात्तिक ३० गते नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीहरूले संयुक्त रूपमा बिजुली निर्यातको भर्चुअल उद्घाटन गरेका थिए। नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले बंगलादेशमा बिजुली निर्यातको पहल अघि बढाएका थिए। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्षायाममा नेपाललाई बढी भएको बिजुली छिमेकी मुलुक भारतसँगै बंगलादेशमा निर्यात गर्न पाउनु खुसीको खबर भएको बताएका छन्। उनले भने, “बंगलादेशमा बिजुली निर्यात हुनु यस क्षेत्रमा लाग्ने समग्र व्यवसायी र नेपालको समृद्धिका लागि खुसीको कुरा हो।” प्राधिकरणका प्रवक्ता राजन ढकालले शनिबार राति १२ बजेदेखि नै भारतीय प्रसारणलाइन हुँदै बंगलादेशतर्फ बिजुली निर्यात सुरु भएको जानकारी दिए। भारततर्फ भने नेपालले केही वर्षअघिदेखि नै बिजुली निर्यात गर्दै आएको छ।

बंगलादेशसँगको बिजुली निर्यात सम्झौता पाँच वर्षको छ। हाललाई हिउँदका महिनामा नेपालमा बिजुली कम उत्पादन हुने भएकाले बर्खामा मात्रै निर्यात गर्ने गरी सम्झौता भएको छ। १५ नोभेम्बरपछि यस वर्षका लागि बंगलादेशमा बिजुली निर्यात बन्द हुनेछ र अर्को वर्षको १५ जुनबाट पुनः सुरु हुनेछ। नेपालको बिजुली खरिद गरेबापत बंगलादेशले नेपाललाई प्रति युनिट ६.४० सेन्ट का दरले शुल्क तिर्ने सम्झौता भएको छ। भारतले पनि प्रसारणलाइन प्रयोग गर्न दिएबापत बंगलादेशबाट तोकिएको शुल्क पाउनेछ।

सरकारले सन् २०३५ सम्म साढे २८ हजार मेगावाट बिजुली उत्पादन गरेर १५ हजार मेगावाट बिजुली विदेश निर्यात गर्ने लक्ष्य लिएको छ। यसमध्ये पाँच हजार मेगावाट बंगलादेशलाई र बाँकी १० हजार मेगावाट बिजुली भारत निर्यात गर्ने लक्ष्य राखिएको छ।

२०८२ अषाढ १, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ १, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ