+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कैलालीमा विपद् प्रतिकार्य योजना सक्रिय: जोखिम क्षेत्रमा पूर्वसूचना प्रणाली विस्तार

अत्रिदेव खबर
२०८२ जेष्ठ ३०, शुक्रबार

धनगढी : मनसुनको आगमनसँगै कैलाली जिल्लामा सम्भावित बाढी र पहिरोबाट हुने क्षति न्यूनीकरण गर्न व्यापक पूर्वतयारी अगाडि बढाइएको छ। यसै क्रममा, जिल्लाभर १८ स्थानमा जलमापन केन्द्र र २२ स्थानमा वर्षामापन केन्द्र स्थापना गरिएको छ, जसले स्थानीय समुदाय र सरोकारवाला निकायहरूलाई बाढीको अवस्थाबारे समयमै पूर्वजानकारी दिने लक्ष्य राखेको छ। विपद् जोखिम न्यूनीकरणका लागि महाकाली बेसिन कार्यालयले कैलालीको साँडेपानी, सीतापुर, मालाखेती, चौमाला, बलिया, भजनी, टीकापुर, अत्तरिया, कालुखेती, गोदावरी, गोगनपानी, गर्भादरबार, बघिल्ला, बौनियाँलगायतका स्थानमा वर्षामापन केन्द्रहरू स्थापना गरिसकेको छ।

कार्यालयका प्रमुख सञ्जय साहका अनुसार, कैलालीका गोदावरी, चुरे र मोहन्याल गरी तीन पालिका पहिरोको उच्च जोखिममा छन्। त्यस्तै, टीकापुर नगरपालिका, जानकी र कैलारी गाउँपालिका, भजनी नगरपालिका र धनगढी उपमहानगरपालिका बाढीको उच्च जोखिममा रहेको पहिचान गरिएको छ। प्रमुख साहले विपद् जोखिम न्यूनीकरणका लागि महाकाली बेसिन कार्यालयले मनसुन आपतकालीन कार्ययोजना, २०८२ अनुसार काम गरिरहेको र विपद् व्यवस्थापनसम्बन्धी सूचना प्रवाहका लागि यस वर्ष पूर्वसूचना प्रणालीसहित आवश्यक सूचना प्रवाह भइरहेकोले जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कैलालीस्थित विभिन्न नदीहरूले प्रभावित पार्ने पालिकाहरूको पनि पहिचान गरिएको छ। कर्णाली नदीले लम्कीचुहा, जानकी र टीकापुर, मोहना नदीले गोदावरी, धनगढी, कैलारी र भजनी, खुटिया नदीले चुरे, गौरीगङ्गा, गोदावरी र धनगढी, घुरहा नदीले कैलारी र भजनी, कान्द्रा नदीले भजनी, लिक्मा नदीले कैलारी र भजनी, काँढा नदीले घोडाघोडी, बर्दगोरिया, जोशीपुर र भजनीलाई प्रभावित गर्ने भएकाले सोही अनुसार पूर्वतयारी थालिएको छ। पथरैया नदीले टीकापुर, जोशीपुर, जानकी, भजनी, रौरा नदीले लम्कीचुहा, टीकापुर र जानकी तथा ठूलीगाडले मोहन्याललाई प्रभावित गर्ने सम्भावना रहेको नेपाल रेडक्रस कैलालीका सभापति लोकराज जोशीले बताए। उनले समुदायलाई सूचना दिनका लागि जिल्लामा पूर्वसूचना प्रणाली (सूचना संयन्त्र) तयार गरिएको जानकारी दिए।

यसैगरी, सुदूरपश्चिम प्रदेश सरकार पनि मनसुनजन्य विपद् प्रतिकार्य योजना निर्माणको तयारीमा जुटेको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी दीपेन्द्रसिंह विष्टले प्रतिकार्य योजनाको अद्यावधिक गर्ने कार्य भइरहेको उल्लेख गरे। जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन कार्यालयका प्रमुख साहले यस वर्षको मनसुनमा कैलालीमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको जानकारी दिए। विगतदेखि डुबान समस्या हुँदै आएको क्षेत्रमा यस वर्ष तुलनात्मक रूपमा बढी डुबान हुन सक्ने भएकाले पूर्वतयारीमा जुट्न आवश्यक रहेको उनको भनाइ छ। उनले बाढीले कृषिउपजमा बढी नोक्सान गर्न सक्ने भएकाले विपद्सम्बन्धी सूचना लिइरहन कृषक तथा सबै जनसमुदायलाई आग्रह गरेका छन्।

२०८२ जेष्ठ ३०, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ ३०, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ