काठमाडौँ : पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा बीचको सम्बन्धमा चिसोपना आएको र त्यसलाई शर्माले मिडिया ट्रायलको रूपमा प्रयोग गरिरहेको आरोप लागेको छ । शर्मा जस्ता ’माहिर खेलाडी’ मानिने नेताहरूले आफू संगठनात्मक वा शक्ति प्रयोगका रूपमा कमजोर भएको बेला प्रचण्डविरुद्ध मिडियामा उत्रने गरेको देखिन्छ।
प्रचण्डविरुद्ध जनार्दन शर्मा कसरी मिडिया ट्रायलमा उत्रिए?
’जनतासँग माओवादी अभियान’का क्रममा पश्चिम रुकुममा आयोजित सभामा प्रचण्डले जनयुद्धकालमा पार्टी छाडेका नेताहरूको प्रसंग जोड्दै “जनयुद्धका क्रममा समर्पणभाव व्यक्त गर्ने नेतृत्वमा रहेका कयौं साथीहरू विचलित भए । उनीहरू पटकपटक पार्टीको लाइन, विचार र नेतृत्वप्रति हामी सम्पूर्ण रूपमा समर्पित छौं भन्थे, तर ती साथीहरू अहिले हाम्रो पार्टीमा छैनन“ भन्दै बाबुराम भट्टराई, रामबहाुर थापा ’बादल’, मोहन वैद्यको नामै लिएर एकाध नेताले पार्टी छोड्दैमा र एकाध नेता विचलित भएर अर्कातिर लाग्दैमा जनताले पार्टी छोड्दैनन“ भनेर बोले, मञ्चमै बसेका जनार्दनले यस अभिब्यक्तिलाई घ’माउरो पारामा आफैलाई लक्षित भएको महसुस गरे ।
त्यसको प्रत्युत्तरमा शर्माले रुकुमबाट प्रचण्डको बिदाइका क्रममा सार्वजनिक रूपमै ’तपाईंको नीतिले २०६४ मा माओवादीले प्राप्त गरेको जनमत कहाँ पुग्यो ?’ भन्दै प्रचण्डको नेतृत्व र पार्टीको समग्र कार्यशैलीमाथि चर्को प्रतिवाद गरे । उनले पदाधिकारी बैठकमा प्रचण्डले आफूलाई पटकपटक पार्टी छोड्न भनेको कुरा मिडियामा सार्वजनिक गर्दै पार्टीभित्र ’आतंक’ र ’स्तुतिगान’ को प्रवृत्ति बढेको आरोपसमेत लगाए ।
विगतमा पनि शर्माले यस्तै शैली अपनाउँदै आएका छन् । २०७८ को आठौं महाधिवेशनमा महासचिवको दाबेदारी तर महासचिव हुन नपाएपछी असन्तुष्टि,पार्टीभित्र लोकतान्त्रीकरण र निर्वाचनको माग, तथा २०८० साउनमा स्थायी कमिटी बैठकमा अध्यक्षको कार्यशैलीप्रति प्रश्न उठाउने लगायतका घटनाक्रममा उनले आफ्नो असन्तुष्टि सार्वजनिक गरेका थिए ।
प्रचण्डको ‘अभिभावकीय’ भूमिका : रणनीतिक सन्तुलन
यी सबै चर्काचर्की र सार्वजनिक असन्तुष्टिहरूका बाबजुद प्रचण्डले जनार्दन शर्मालाई सीधै कारबाही गर्ने वा पार्टीबाट निकाल्ने जस्ता कडा कदम चालेका छैनन्। बरु, उनले ‘समीक्षा हुने’ भन्ने जस्ता सामान्य जवाफ दिएर वा ‘अर्को बैठकमा छलफल गरौंला’ भन्दै कुरा टार्ने प्रयास गरेका छन्। रुकुमको सभामा पनि ‘पार्टीले पाएका अवसरहरूमा मैले भेदभाव गरेको छैन’ भन्दै शर्माप्रति कटाक्ष गरे पनि उनलाई पूर्ण रूपमा पन्छाउने काम गरेका छैनन्। संगठन विभागको प्रमुख बनाएर जिम्मेवारी दिएको देखिन्छ, यद्यपि विभागमा उनी एक्लै भएको गुनासो छ।
प्रचण्डको यो शैलीलाई ‘अभिभावकीय भूमिका’ वा पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन कायम राख्ने रणनीतिक प्रयास का रूपमा बुझ्न सकिन्छ। प्रचण्डलाई शर्माको जनयुद्धकालीन योगदानको राम्रो ज्ञान छ, जसले गर्दा उनी शर्मालाई तत्काल कुनै कडा कदम चाल्नबाट पछि हटेको देखिन्छ। प्रचण्डलाई माओवादीभित्र थप विभाजनको जोखिमबाट बच्नुपर्ने चुनौती सधैं रहन्छ, र यही कारणले पनि उनी आफ्ना असन्तुष्ट नेताहरूलाई पूर्ण रूपमा चिढाउन चाहँदैनन्।
यसरी, जनार्दन शर्माले प्रचण्डको कार्यशैलीमाथिको असन्तुष्टि, पार्टीभित्रको लोकतन्त्रीकरणको माग र आफूलाई पन्छाउने प्रयास भएको महसुस गर्दा मिडियालाई प्रयोग गर्दै प्रचण्डलाई कमजोर बनाउने सशक्त माध्यम बनाएको स्पष्ट देखिन्छ। यो प्रचण्डलाई निरन्तर दबावमा राख्ने, आफूलाई पार्टीभित्र शक्तिशाली र विकल्पका रूपमा प्रस्तुत गर्ने एक रणनीतिक चाल हो। माओवादी केन्द्रभित्रको यो आन्तरिक द्वन्द्वले पार्टीको भविष्य र आगामी राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ, त्यो हेर्न बाँकी नै छ।
२०८२ जेष्ठ ३०, शुक्रबार