+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह

अत्रिदेव खबर
२०८२ जेष्ठ ३०, शुक्रबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका छन्। अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दुविधामुक्त न्याय सम्पादनका लागि अनुसन्धान र अभियोजनमा तथ्य र प्रमाणको महत्त्वमाथि जोड दिन आग्रह गरेका हुन्।

प्रधानमन्त्री ओलीले समाजमा अन्याय हुन नदिन र सामाजिक सुव्यवस्थाका लागि समयसापेक्ष कानुनको निर्माण र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन्। उनले यसका लागि उचित स्रोतसाधनसहित शिक्षित, सक्षम र इमानदार जनशक्तिको आवश्यकता औंल्याउँदै सरकार त्यसका लागि प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

प्रहरीमा स्वच्छता, निष्पक्षता र पारदर्शीता हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले प्रहरीलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउन सरकारले ध्यान दिने बताएका छन्। अपराधीले अपराध ढाकछोपका लागि अनेक सोच र प्रविधिको प्रयोग गर्ने भएकाले त्यसलाई नियन्त्रणमा लिन प्रहरी नयाँ प्रविधिसहित स्रोतसाधन सम्पन्न हुनुपर्ने उनको भनाइ थियो। उनले प्रहरीको त्रुटिरहित अनुसन्धानले नै न्याय निरुपणका लागि बाटो देखाउने उल्लेख गरेका छन्।

गृहमन्त्री रमेश लेखक र महान्याधिवक्ता रमेश बडालसहितको सहभागिता रहेको सम्मेलनमा प्रधानमन्त्री ओलीले प्रणालीगत प्रबन्धमार्फत समान अधिकार र अवसर दिन, विकास, सुव्यवस्था र सुशासनका पक्षमा ध्यान दिँदै दोषीलाई कारवाही र पीडितलाई न्याय दिने काममा लाग्न सबैलाई आग्रह गरेका छन्। प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित यो दुई दिने सम्मेलनले निष्कर्षसहित घोषणापत्र जारी गर्नेछ।

 

२०८२ जेष्ठ ३०, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ ३०, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ