काठमाडौं: नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागु भएपछि पहिलोपटक निर्वाचनमार्फत नेतृत्व चयन हुन लागेको हो।
गत आइतबारदेखि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको प्रांगणमा जारी अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनमा सहमतिको प्रयास असफल भएपछि निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्न लागिएको हो। केही बेरअघिबाट ४३ वटा इलेक्ट्रोनिक भोटिङ मेसिन मार्फत मतदान प्रक्रिया सुरु भएको छ। मतदान साँझ ४ बजेसम्म जारी रहनेछ।
गएको आइतबार प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका थिए। यसअघि बुधबार राति ८ बजेदेखि मतदानको कार्यतालिका तय गरिए पनि तयारी नपुगेको भन्दै निर्वाचन समितिले सूचना जारी गर्दै मतदानको समय आजका लागि सारेको थियो।
अनेरास्ववियुको अध्यक्ष पदका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन्। महासचिव पदमा भने दीपक धामी, आरके रोमस र सुनिल कंडेल गरी तीन जनाको उम्मेदवारी परेको छ। निर्वाचन स्थलमा यतिबेला उम्मेदवारहरू विभिन्न ढंगले मत मागिरहेका छन्। उमेर हद लागु भएसँगै नेतृत्वका दाबेदार मानिएका १५ जना पदाधिकारी प्रतिस्पर्धाबाट बाहिरिने भएका छन्। यसले गर्दा अब अनेरास्ववियुको नेतृत्व सचिव तहमा आउने देखिएको छ।
२०८२ जेष्ठ २९, बिहिबार