काठमाडौं : नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि आज (बुधबार) निर्वाचन हुने भएको छ। पार्टी हाइकमान्डले सर्वसम्मतिको लागि जोड दिए पनि गएराति अबेरसम्म उम्मेदवारी दर्ता भएसँगै निर्वाचन प्रक्रिया अघि बढेको हो।
अध्यक्ष पदमा दुई दावेदार:
अध्यक्ष पदका लागि डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दर्ता गराएका छन्।
उपाध्यक्ष र महासचिवमा कडा प्रतिस्पर्धा:
उपाध्यक्ष पदमा ८ जनाको उम्मेदवारी परेको छ। खुला उपाध्यक्षमा भरत धामी लिपुलेक, राजकुमार ढकाल, विकास श्रेष्ठ, धमेन्द्र केसी र रोहित बमबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, आरती भट्टराई, सुनिता धिताल र भवानी बजगाईँले उम्मेदवारी दिएका छन्। महासचिव पदमा दीपक धामी, आरके रोमस र सुनिल कँडेलले उम्मेदवारी दर्ता गराएका छन्। उपमहासचिव पदमा कमल जोशी, अमर शाही र प्रेमिका शाहीले प्रतिस्पर्धा गर्दैछन्।
सचिव पदमा ठूलो भिड:सचिव पदमा करिब ४० जना उम्मेदवार छन्।मनोज राई, रक्षा बम,अनुप लामिछाने, रेखा न्यौपाने, नीरज पौडेल, धर्मराज तिमिल्सेना, स्मृति बराल, मदन भण्डारी, राजेश ओली लगायतका नेताहरूले सचिव पदमा उम्मेदवारी दिएका छन्।
पार्टी नेतृत्वको सर्वसम्मतिको निर्देशनका बाबजुद निर्वाचनको माग गर्दै कार्यकर्ताहरूले होहल्ला र नाराबाजी गरेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको थियो। कार्यतालिका अनुसार हिजो (मंगलबार) दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारको दर्ता फारम वितरण र ४ देखि ६ बजेसम्म दर्ताको समय तोकिएको थियो।
आज बिहान १० बजेदेखि ५ बजेसम्म मतदान हुने उल्लेख भए पनि अन्तिम नामावली आउन बाँकी रहेकोले मतदानको समय केही ढिलो हुन सक्ने बताइएको छ। अनेरास्ववियुको यो महाधिवेशनले आगामी दिनमा विद्यार्थी राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने चासोका साथ हेरिएको छ।
२०८२ जेष्ठ २८, बुधबार