काठमाडौं : नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी शाहले बाजुराको बुढीगंगा नगरपालिकास्थित बाम्का बजारमा भएको भीषण आगलागीका पीडितहरूलाई तत्काल राहत, क्षतिपूर्ति र पुनःस्थापना गर्न सरकारसँग जोडदार माग गरेकी छन्। सोमबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद शाहले सरकारले बाजुरालाई एउटा दमकलसमेत उपलब्ध गराउन नसकेका कारण ठूलो क्षति भएको भन्दै घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने अडान राखिन्।
सांसद शाहले दिएको जानकारीअनुसार, जेठ २३ गते बाम्का बजारमा भएको आगलागीबाट १३ पसल र २ वटा होटल पूर्णरूपमा नष्ट भएका छन् भने ३४ वटा पसल र होटलमा क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार आगलागीबाट १९ करोडभन्दा बढीको क्षति भएको अनुमान छ।उनले आगलागी पीडित व्यापारीहरूप्रति सहानुभूति व्यक्त गर्दै उनीहरूलाई तुरुन्त पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराइन्।
सांसद शाहले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनको भनाइ उद्धृत गरिन्: “हजार जना मूर्ख भएपनि देशलाई खासै असर पर्दैन तर एक नेता मूर्ख भए देश डुब्छ र जनताले दुःख पाउँछन्।” उनले अर्बौं रुपैयाँ खर्चेर भ्यू टावरहरू बनाउने सरकारले बाजुरालाई एउटा सामान्य दमकलसमेत उपलब्ध गराउन नसक्दा यति ठूलो क्षति भएको भन्दै रोष प्रकट गरिन्। दमकल भएको भए यति ठूलो क्षति नहुने उनको तर्क थियो।यस घटनाले दूरदराजका जिल्लाहरूमा विपद् व्यवस्थापनको पूर्वतयारी र आवश्यक पूर्वाधारको अभावलाई पुनः उजागर गरेको छ।
२०८२ जेष्ठ २६, सोमबार