+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘बोलपत्र प्रकाशित भएन, भुक्तानी मात्रै लियो’: विज्ञापन भ्रष्टाचारमा अख्तियारको नयाँ खुलासा

अत्रीदेव खबर
२०८२ जेष्ठ २६, सोमबार

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिकामा भएको विज्ञापन प्रकाशनसम्बन्धी भ्रष्टाचार प्रकरणमा नयाँ र गम्भीर खुलासा गरेको छ। अख्तियारले नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित जनसवाल राष्ट्रिय दैनिकका सम्पादक, तराई पोष्टका प्रतिनिधि र प्रकाशकसमेत ५ जनाविरुद्ध मुद्दा दायर गर्दै अनियमितताको नयाँ पाटो उजागर गरेको हो।

अख्तियारद्वारा दायर गरिएको आरोपपत्रमा उल्लेख भएअनुसार, सम्बन्धित पत्रिकाहरूमा बोलपत्र प्रकाशित गर्ने भनिए पनि सो दिनको पत्रिकाको रेकर्डमा बोलपत्र प्रकाशित भएको देखिएको छैन, तर त्यसबापतको भुक्तानी भने लिइएको पाइएको छ। यसले विज्ञापन प्रकाशनको नाममा भुक्तानी मात्र लिने तर वास्तविक काम नगर्ने प्रवृत्ति मौलाएको देखाएको छ, जसलाई अख्तियारले ‘गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार’ को संज्ञा दिएको छ।

अख्तियारले फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भु कुमार यादव र तत्कालीन सह-लेखापाल नविन कुमार यादवलाई तराई पोष्टका प्रतिनिधि ओम प्रकाश यादवसँग मिलेर २ लाख १२ हजार २२५ रुपैयाँ अनियमितता गरेको आरोप लगाएको छ। त्यस्तै, जनसवाल पब्लिकेशन प्रा.लि. तथा उक्त कम्पनीका सम्पादक रामजी बगालेविरुद्ध एक लाख ७२ हजार ८२५ रुपैयाँ र तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेलविरुद्ध ३९ हजार ४०० रुपैयाँ अनियमितता गरेको आरोपपत्रमा उल्लेख छ।

यो खुलासाले सरकारी निकाय र सञ्चार माध्यमबीचको विज्ञापन कारोबारमा थप पारदर्शिता र जवाफदेहिताको आवश्यकता औंल्याएको छ। प्रकाशित नभएको विज्ञापनको भुक्तानी लिने कार्यले राज्य कोषको दुरुपयोग मात्र नभई सञ्चार माध्यमको विश्वसनीयतामाथि पनि प्रश्नचिह्न खडा गरेको छ। अख्तियारको यो कदमले भविष्यमा यस्ता अनियमितता नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

२०८२ जेष्ठ २६, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २६, सोमबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ