काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालमा अर्बौं रुपैयाँ गैरकानुनी तरिकाले आएको भन्दै यसबारे थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (CIB) लाई पत्राचार गर्ने भएको छ। बिहीबार विशेष अदालतमा दायर भएको एक अभियोग पत्रमा अख्तियारले यो निर्णय गरेको हो।
अख्तियारको प्रारम्भिक अनुसन्धानले पतञ्जलीले एसबिआई बैंक र एभेरेष्ट बैंकलगायत नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थामा गैरकानुनी रेमिट्यान्समार्फत ठूलो रकम प्राप्त गरेको देखाएको छ। उक्त रकम प्राप्त गर्दा नेपाल राष्ट्र बैंक, समाज कल्याण परिषद्लगायतका कानुनबमोजिमका कार्यालयबाट कुनै अनुमति नलिएको अख्तियारले औंल्याएको छ।
अख्तियारले पतञ्जलीको बैंक खातामा आएको उक्त रकमको खर्चको कुनै हरहिसाब नदेखिएको पनि जनाएको छ। आयोगको निष्कर्षमा, यो रकम बैंकिङ कसुर तथा सजाय ऐन २०६४, विदेशी विनिमय ऐन, २०१९, राष्ट्र बैंक ऐन, २०५८ लगायतका प्रचलित कानुनको समेत प्रतिकूल रहेको पाइएको छ। यसैले, थप विस्तृत अनुसन्धानको आवश्यकता महसुस गर्दै अख्तियारले CIB लाई अनुसन्धानको जिम्मा लगाउने निर्णय गरेको हो।
२०८२ जेष्ठ २३, शुक्रबार