+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सभामुखसँग राप्रपाको गुनासोको चाङ: पिएसओदेखि सदनमा विभेदसम्म

अत्रिदेव खबर
२०८२ जेष्ठ २१, बुधबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले सभामुख देवराज घिमिरेलाई भेटेर आफ्ना विभिन्न चासोहरू व्यक्त गरेका छन्। यस भेटमा प्रमुख रूपमा पिएसओ फिर्ता र सांसद दीपक सिंहको पक्राउ सम्बन्धमा कुराकानी भएको थियो।

राप्रपाका सांसदहरूले आफूहरूलाई दिइएको पिएसओ बिनाकारण सरकारले फिर्ता बोलाएकोमा आपत्ति जनाएका छन्। प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पिएसओ केही दिनअघि फिर्ता गरिएको थियो। राप्रपाले दलको हैसियत र दीपक सिंह संसदीय समितिकै सभापति भएकाले पिएसओ पाउनुपर्ने भन्दै यसरी विभेद गर्न नपाइने प्रश्न सभामुखसमक्ष उठाएका छन्। उनीहरूले अन्य संसदीय समिति र प्रमुख सचेतकहरूले लिएका पिएसओ पनि फिर्ता गरिनुपर्ने वा आफूहरूको फिर्ता नगरिनुपर्ने भन्दै सभामुखलाई गृहमन्त्रीसँग कुरा गर्न आग्रह गरेका छन्।

प्रहरीले यसअघि पिएसओहरूलाई नियमित ब्रिफिङका लागि बोलाइएको बताए पनि, गृहमन्त्री रमेश लेखकले बुधबार राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा राजावादी आन्दोलनको सुरक्षालाई मध्यनजर गर्दै राप्रपाका नेताहरूलाई दिइएका पिएसओहरूलाई फिर्ता बोलाएर आन्दोलन सुरक्षामा परिचालन गर्नुपरेको स्पष्ट पारेका छन्। उनले राजावादीहरूको आन्दोलन सकिएमा तत्काल राप्रपा नेताहरूलाई पिएसओ पठाइने बताए।

राप्रपाका सांसदहरूले प्रहरी परिसर पुगेका बेला सांसद दीपक सिंहलाई बिनाअदालतको आदेश वा पक्राउ पुर्जी किन पक्राउ गरियो भन्ने प्रश्न पनि सभामुखसमक्ष राखेका छन्। जेठ १८ गते राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकालीमा राखेको बेला थापालाई भेट्न पुगेका सांसद दीपक सिंहलाई परिसरबाटै पक्राउ गरिएको थियो। सांसद सिंह पक्राउ परेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सभामुख देवराज घिमिरेलाई फोन गरेका थिए र त्यसपछि सभामुख घिमिरेले गृहमन्त्री रमेश लेखकलाई फोन गरेका थिए। पक्राउ परेको केही घण्टामै थापा र सिंह रिहा भएका थिए। राप्रपाले सांसद सिंहलाई रिहा गर्न सभामुखले खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद दिएको छ।

राप्रपाका सांसदहरूले प्रतिनिधि सभा बैठक चलाउने बेला विपक्षी दलका सांसदहरूलाई बोल्न दिए पनि राप्रपालाई बोल्न नदिइएको भन्दै गुनासो गरेका छन्। सांसद रोशन कार्कीले राप्रपालाई समय नदिइएकोमा असन्तुष्टि व्यक्त गरेकी छिन्। साथै, सभामुखले बोलाएका छलफलहरूमा राप्रपालाई छुटाउने गरिएकोमा पनि उनीहरूले प्रश्न उठाएका छन्। प्रमुख सचेतक शाहीले सभामुखले बोलाएको बैठकमा राप्रपालाई छुटाउन खोजिएको हो कि भनी सोधेका छन्। सदन अवरोध हटाउन भन्दै सभामुखले पछिल्लो समय ठूला तीन दलका प्रमुख सचेतकहरूसँग कुराकानी गर्दै आएका छन्।

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बस्ने गरेको प्रतिपक्षी दलहरूको बैठकमा पनि राप्रपालाई बोलाउने गरिएको छैन। संविधान र गणतन्त्र पक्षधर प्रतिपक्षी दललाई मात्रै प्रचण्डले छलफलमा बोलाउने गरेका छन्। राप्रपा पछिल्लो समय राजावादी आन्दोलनमा सामेल छ। नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ मार्फत राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनालगायत एजेन्डामा राप्रपा आन्दोलनमा रहेको छ।

२०८२ जेष्ठ २१, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २१, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ