काठमाडौँ : जर्मन चान्सलर फ्रेडरिक मेर्जले अमेरिकाको भ्रमण गर्ने भएका छन् ।भ्रमणका कारण मेर्जले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नेछन् । ट्रम्पसँगको भेटघाटमा मेर्जले युक्रेनमा जारी युद्ध र व्यापारसँग सम्बन्धित समस्याहरू जस्ता मुद्दाहरूमा छलफल गर्ने मिडिया रिपोर्टमा उल्लेख छ ।
मेर्जको कार्यालयले फ्रेडरिक मेर्जले आगामी बिहीबार ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पलाई भेट्ने बताएको छ । यो दुई नेताहरूको पहिलो प्रत्यक्ष भेटवार्ता हुनेछ । मेर्जले मे ६ मा जर्मनीको चान्सलरको कार्यभार सम्हालेका थिए ।यस भ्रमणमा उनले जर्मनी-अमेरिका सम्बन्ध र युक्रेनमा रूसको युद्ध, मध्य पूर्वको अवस्था र व्यापार नीति जस्ता अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गर्ने भएका छन् ।
जर्मनीको चान्सलर बनेदेखि, मेर्जले रूस-युक्रेन युद्ध रोक्न प्रयास गरिरहेका छन् । यसबाहेक, उनी युक्रेनलाई पश्चिमी देशहरूको समर्थन प्राप्त गर्न निरन्तर कूटनीतिक प्रयासहरूमा पनि संलग्न छन् । जर्मनी युरोपेली संघ र अमेरिका बीचको व्यापार तनाव कम गर्न चाहन्छ । ट्रम्पले २७ राष्ट्र समूह युरोपेली संघबाट आउने सामानहरूमा ५० प्रतिशत कर लगाउने धम्की दिएका छन् र उनले यसको समयसीमा जुलाई ९ सम्म बढाएका छन् । जर्मनी युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएकाले पनि उनको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
२०८२ जेष्ठ १८, आईतबार