काठमाडौं : सत्तारुढ दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै सदन अवरोध गरिरहेका विपक्षी दलहरूलाई संसद बैठकहरू सहज रूपमा अगाडि बढाउन सहयोगको आग्रह गरेका छन्। सभामुख र कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता पक्षका नेताहरूले विपक्षी दलका नेताहरूलाई संसद सुचारु गर्न आग्रह गरेका हुन्।
एमालेका मुख्य सचेतक महेश बर्तौलाले सदन अगाडि बढाउन विपक्षी दलहरूले सहयोग गर्नुपर्नेमा जोड दिए। उनले भने, “हामीले सदनलाई अगाडि बढाउन तपाईँहरूले सहयोग गर्नुपर्छ, हरेक पटक सदन बन्द गर्नको लागि, साना मसिना कुराहरूलाई पनि मसला बनाएर जाने कुराले राम्रो गर्दैन। त्यसले संसदीय प्रणालीलाई सुदृढ गर्नको लागि निकै ठूलो चुनौती सिर्जना गर्छ। त्यो पार्टीमा तपाईँहरूले सोच्नुपर्छ।”
बर्तौलाले विपक्षी दलका नेताहरूले बैठकमा सकारात्मक कुरा गरे पनि बाहिर भने बाध्यताले कडा रूपमा प्रस्तुत भएको टिप्पणी गरे। उनले सामान्य कर्मचारीको विषयलाई लिएर संसदीय गतिविधिहरूलाई यसरी अवरोध गर्नाले गलत राजनीतिक नजिर बस्न सक्ने भन्दै विपक्षी दलहरूले यस विषयमा समीक्षा गर्ने विश्वास व्यक्त गरे। उनले जेठ २० गतेदेखि बैठक सहज ढंगले अघि बढ्ने वातावरण बन्ने विश्वास व्यक्त गरे।
यद्यपि, विपक्षी दलहरूले भने आफ्नो अडान कायमै राखेका छन्। उनीहरूले गृहमन्त्रीको राजीनामा, प्रधानमन्त्री केपी ओलीको जवाफ र भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनलाई आफ्नो बटमलाइन बनाएका छन्। यी मागहरू पूरा नभएसम्म संसद अवरोध जारी राख्ने अडानमा विपक्षी दलहरू रहेका छन्। यसले गर्दा संसदको आगामी बैठकहरूमा पनि गतिरोध कायमै रहने सम्भावना बढेको छ। सत्तारुढ र विपक्षी दलहरूबीचको यो गतिरोधले संसदीय कार्यप्रणालीमा थप चुनौती थपेको छ।
२०८२ जेष्ठ १६, शुक्रबार