काठमाडौं : गणतन्त्र दिवसकै दिन राजधानीको रत्नपार्क क्षेत्रमा आज (जेठ १५ गते) गणतन्त्रवादी र राजावादी समूहबीच चर्को तनावको स्थिति सिर्जना भएको छ। नेकपा एमाले गणतन्त्र उत्सव मनाइरहँदा, राजावादीहरूको र्याली पनि रत्नपार्क पुगेपछि केहीबेर दुई समूहबीच घम्साघम्सी चलेको थियो। तर, बाक्लो संख्यामा खटिएका सुरक्षाकर्मीका कारण ठूलो झडप भने टरेको छ।
प्रहरीका अनुसार, रत्नपार्क क्षेत्रमा वारि राजावादी र पारि एमालेका कार्यकर्ताहरू आक्रामक रूपमा आमनेसामने भएका थिए। प्रहरीले दुवै समूहलाई भेट हुन नदिई बीचमा कडा सुरक्षा घेरा बनाएको थियो।
गणतन्त्रको पक्षमा उत्सव मनाउने एमाले र अहिलेको व्यवस्थाविरुद्ध प्रदर्शन गर्ने राजावादीहरूले एकै स्थानमा कार्यक्रम गर्दा स्थिति जटिल बनेको हो। प्रशासनले दुवै समूहसँग समन्वय गरी छुट्टाछुट्टै समय तोकेको थियो। एमालेलाई २ बजेसम्ममा कार्यक्रम सक्न भनिएको थियो भने, राजावादीको कार्यक्रम साढे २ बजेपछि मात्र रत्नपार्क पुग्ने गरी समन्वय गरिएको थियो।
तर, एमालेको कार्यक्रम २ बजेसम्म पनि नसकिनु र राजावादीहरू २ नबज्दै रत्नपार्क आसपास पुगिसक्नुले प्रशासनको समन्वय प्रयासमा चुनौती थपेको देखिन्छ।
काठमाडौं प्रहरी परिसरका प्रहरी प्रवक्ता अपिलराज बोहोराले एमालेको कार्यक्रम सकिएपछि अहिले राजावादीहरू शान्तिबाटिकमा भेला भएको जानकारी दिएका छन्। यसअघि प्रहरीले सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै राजावादी समर्थकहरूलाई जमलतर्फ पठाएको थियो। गणतन्त्र दिवसमा देखिएको यो दुई ध्रुवीय शक्ति प्रदर्शनले नेपालको राजनीतिक ध्रुवीकरणलाई थप स्पष्ट पारेको छ।
२०८२ जेष्ठ १५, बिहिबार