काठमाडौ : राष्ट्रिय योजना आयोगको बैठकले आगामी तीन आर्थिक वर्ष (२०८२/०८३–२०८४/०८५) को मध्यमकालीन खर्च संरचना स्वीकृत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको पूर्ण बैठकले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २२ (१) बमोजिम उक्त त्रिवर्षीय संरचनाको वार्षिक विकास कार्यक्रमलाई अनुमोदन गरेको हो। यस खर्च संरचनामा आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक आय र व्ययको विवरण समावेश गरिनेछ।
बैठकले बजेट तर्जुमा प्रक्रियालाई थप व्यवस्थित बनाउन महत्त्वपूर्ण निर्णय पनि गरेको छ। अबदेखि, आगामी आर्थिक वर्षबाट राष्ट्रिय स्रोत अनुमान समितिले निर्धारण गरेको स्रोत अनुमान तथा सीमाका आधारमा आय र व्ययको अनुमान तयार हुनुअगावै त्यसलाई अन्तिम रूप दिई अर्थ मन्त्रालयमा पठाउन आवश्यक तयारी गरिनेछ।
आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले बैठकमा आगामी तीन आर्थिक वर्षको स्रोत अनुमान तथा प्रक्षेपण, आयोजनाको विश्लेषण र प्राथमिकीकरणसहितको प्रस्तुति गर्नुभएको थियो। उहाँले आर्थिक अनुशासनसहितको विकासमा जोड दिन सबै मन्त्रालयलाई बुझाउने काम भइरहेको जानकारी गराउनुभयो।
२०८२ जेष्ठ १५, बिहिबार