मकवानपुर : मकवानपुरको भीमफेदी गाउँपालिका ८ बगुवास्थित बागमती नदीमा आएको बाढीले दुईवटा सवारी साधन बगाएको छ। आज बिहानपख परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले डिजेल बोकेको तेल ट्यांकर र एउटा डब्बा ट्रक बगाएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालका अनुसार, बाराको अमलेखगञ्जबाट डिजेल बोकेर काठमाडौँतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क २०३१ नम्बरको ट्यांकर पुल नजिकैको चिप्लो र हिलो बाटोमा अनियन्त्रित भई खोलामा खसेको थियो। ट्यांकरका चालक वीरगन्ज महानगरपालिका–२१ का २६ वर्षीय कृष्ण महतोले भने गाडी खस्नुअघि नै हामफालेर आफ्नो ज्यान जोगाउन सफल भएका छन्।
त्यसैगरी, वीरगन्ज भन्सारबाट सामान बोकेर काठमाडौँतर्फ जाँदै गरेको ना ३ ख ५१९६ नम्बरको डब्बा गाडी पनि बागमती नदीले बगाएको छ। प्रवक्ता अर्यालका अनुसार, खोला नजिकै पार्किङ गरेर राखिएको अवस्थामा बाढीले उक्त गाडी बगाएको हो। दुवै सवारी साधन खोलाको तीव्र बहावमा परेर बगे पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
यसैबीच, मकवानपुरको भीमफेदी गाउँपालिका-८ भर्याङडाँडामा गएराति खसेको पहिरोका कारण काठमाडौँ र हेटौँडा जोड्ने कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ। ढुंगासहितको पहिरो खस्दा सडक अवरुद्ध भएको र पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा सडक अवरुद्ध र नदीमा बाढीको जोखिम बढेको छ।
२०८२ जेष्ठ १५, बिहिबार