काठमाडौं : गणतन्त्र दिवसका अवसरमा काठमाडौंको शान्तिबाटिका क्षेत्रमा आज (जेठ १५ गते) अभूतपूर्व ‘भूगोल’ देखिएको छ: वारि राजावादी, पारि नेकपा एमाले, र बीचमा बाक्लो संख्यामा प्रहरी। एमालेको गणतन्त्र उत्सव र्याली शान्तिबाटिका पुग्न थालेपछि, सम्भावित झडप टार्न प्रहरीले त्यहाँ भेला भएका राजावादी समर्थकहरूलाई जमलतर्फ पठाएको छ।
आज बिहानैदेखि रत्नपार्क र भृकुटीमण्डप क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। प्रहरी प्रशासनले राजावादी समर्थकहरूलाई दिउँसो २ बजेपछि मात्र शान्तिबाटिकामा प्रवेश दिने बताइसकेको थियो। तर, एमालेको ‘गणतन्त्र उत्सव’ र्याली विभिन्न स्थानबाट भृकुटीमण्डपमा भेला भएर शान्तिबाटिकातर्फ अघि बढेपछि, प्रहरीले सक्रियता बढाएको हो।
प्रहरीले रत्नपार्कमा भेला भएका राजावादी समर्थकहरूलाई जमलतर्फ पठाएर दुई पक्षबीच ‘जम्काभेट’ हुन नदिने वातावरण बनाएको छ। यो कदम सम्भावित दुर्घटना र तनावलाई मध्यनजर गर्दै चालिएको हो।
नेकपा एमालेले गणतन्त्र दिवसलाई ‘उत्सव’ का रूपमा मनाउँदै काठमाडौंका विभिन्न स्थानबाट झाँकीसहितको र्याली निकालेको छ। यो र्याली शान्तिबाटिकामा पुगेर सभामा परिणत हुने एमालेले जनाएको छ।
अर्कोतर्फ, गणतन्त्र दिवसकै दिन राजसंस्था पुनस्र्थापनाको मागसहित आन्दोलनमा उत्रिएको राजावादी समूहको पनि रत्नपार्क क्षेत्रमा प्रदर्शन गर्ने तयारी थियो। प्रहरीको यस कडा सुरक्षा व्यवस्थाले आज राजधानीमा शान्ति कायम राख्ने प्रयास गरेको देखिन्छ।
२०८२ जेष्ठ १५, बिहिबार