काठमाडौँ : गणतन्त्र दिवस २०८२ को पावन अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रको रक्षा र समृद्धिको मार्गमा अझ सशक्त ढंगले अघि बढ्न सम्पूर्ण नेपालीमा हार्दिक आह्वान गरेका छन्। उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना दिँदै यो बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई थप सुदृढ पार्नुपर्नेमा जोड दिए।सहिदको सम्मान र अपूरो कार्यभार
पूर्वप्रधानमन्त्री प्रचण्डले यस महान् जनयुद्ध र जनआन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। साथै, गणतन्त्र प्राप्तिको आन्दोलनमा बेपत्ता भएका र घाइते योद्धाहरूको त्याग तथा योगदानको उच्च सम्मान पनि व्यक्त गरे।
उनले गणतन्त्रले नेपालमा पुस्तौंदेखिको पितृसत्तात्मक र जहानियाँ राजतन्त्रको अन्त्य गर्दै समानुपातिक प्रतिनिधित्वसहितको समावेशी लोकतन्त्रको आधार तयार पारेको कुराको स्मरण गराए। यद्यपि, राजनीतिक परिवर्तन मात्र पर्याप्त नभएको बताउँदै उनले अझै पनि आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको महत्त्वपूर्ण कार्यभार पूरा हुन बाँकी रहेको स्वीकार गरे। यो कार्यभार पूरा नभएसम्म गणतन्त्रको वास्तविक फल जनताले पाउन नसक्ने उनको आशय थियो।
वर्तमान राजनीतिक अवस्थामा देखिएका केही बेथितिहरू र प्रतिगामी शक्तिहरूको गतिविधिप्रति पूर्वप्रधानमन्त्रीले गम्भीर चेतावनी दिएका छन्। उनले गणतन्त्रमाथि आँच पुर्याउन खोज्ने कुनै पनि प्रयासलाई निस्तेज पार्न सबै गणतान्त्रिक शक्तिहरूबीच बलियो एकता र सहकार्य अपरिहार्य रहेको बताए।
अन्तमा, पूर्वप्रधानमन्त्री दाहालले गणतन्त्र दिवसले सबै नेपालीमा गणतान्त्रिक सोच, शैली र आचरणको विकास गरी अग्रगामी परिवर्तनको अभियानमा केन्द्रित हुन प्रेरणा मिलोस् भन्ने कामनासहित शुभकामना व्यक्त गरे। उनले यो दिवसले हामीलाई विगतको संघर्ष र भविष्यको समृद्धिको संकल्प दुवैको स्मरण गराउने विश्वास व्यक्त गरे।
२०८२ जेष्ठ १५, बिहिबार