काठमाडौं : संघीय संसद्मा अनौठो दृश्य देखिएको छ। ‘भिजिट भिसा’ प्रकरणलाई लिएर प्रमुख विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेपछि, तल्लो सदनका केही सांसदहरू फुर्सदको सदुपयोग गर्दै राष्ट्रियसभाको बैठक अवलोकन गर्न पुगेका छन्। प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै एक अर्काका पूरक भए तापनि, यसरी तल्लो सदनका सदस्यहरू दर्शकदीर्घामा पुग्नुलाई धेरैले चासोका साथ हेरेका छन्।
आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक झन्डै दुई घण्टा ढिला गरी सुरु भयो। सभामुख देवराज घिमिरेले बैठक सुरु गर्नासाथ विपक्षी दलले पुनः विरोध जनाएपछि बैठक आधा घण्टाका लागि स्थगित भयो। यसरी बैठक स्थगित भएपछि सांसदहरूले फुर्सद पाए। केहीले सञ्चारकर्मीलाई प्रतिक्रिया दिए भने केही चमेनागृहमा चिया पिउन वा सिंहदरबारतर्फ लागे।
यसैबीच, प्रतिनिधिसभाका चार जना सांसदहरू सुहाङ नेम्वाङ, राजेन्द्रकुमार राई, प्रभु हजारा र सराज अहमद फारूकी भने राष्ट्रियसभाको बैठक अवलोकन गर्न पुगे। राष्ट्रियसभाको बैठक अपराह्न १:१५ बजेदेखि नै नियमित चलिरहेको थियो, जहाँ तल्लो सदनको अवरोधको कुनै प्रभाव परेको थिएन।
यी सांसदहरू राष्ट्रियसभाको नियमित बैठक कक्षमा नभई दर्शकदीर्घामा उपस्थित भएका थिए। प्रत्यक्ष प्रसारणमा पनि देखिएको यो दृश्यले धेरैको ध्यान तानेको थियो। सञ्चारकर्मीले सांसद नेम्वाङलाई राष्ट्रियसभामा जानुको कारण सोध्दा उनले संक्षिप्त जवाफ दिँदै भने, “माथिल्लो सदनमा के कसो हुँदो रहेछ भनेर जानकारी लिन गएका हौं।” उनले माथिल्लो सदनको नियमित काम कारबाही र गतिविधिबारे जानकारी लिने उद्देश्य रहेको बताए।
यस्तै, सांसद सराज अहमद फारूकीले पनि आफूहरूले धेरै पहिलेदेखि माथिल्लो सदनको काम कारबाही बुझ्ने इच्छा राखेको र आज त्यो पूरा भएको बताए। फुर्सदको समय सदुपयोग गर्दै दर्शकदीर्घामा बसेर राष्ट्रियसभाको बैठक अवलोकन गर्दा रमाइलो लागेको उनको भनाइ थियो। उनले राष्ट्रियसभाको बैठक सञ्चालन तरिका प्रतिनिधिसभाकै जस्तो भए पनि फरक अनुभव भएको बताए।
प्रतिनिधिसभाका चार सांसद दर्शकका रूपमा उपस्थित हुँदा राष्ट्रियसभा सदस्य गोपीबहादुर सार्की अछामीले आफ्नो धारणा राखिरहेका थिए। यद्यपि, सांसद फारूकीले आफूहरू केही समय राष्ट्रियसभा बैठकको प्रत्यक्ष जानकारी लिई बाहिरिएको बताए। बहस र छलफलका हिसाबले तल्लो सदनभन्दा माथिल्लो सदन थप व्यवस्थित मानिन्छ।
२०८२ जेष्ठ १४, बुधबार