काठमाडौं : भोलिबाट (जेठ १५ गते) सुरु हुने राजावादी समूहको ‘संयुक्त जनआन्दोलन’ लाई मध्यनजर गर्दै नेपाल प्रहरीले सुरक्षा संवेदनशीलता बढाएको छ। यसै क्रममा, विभिन्न राजनीतिक दलका नेताहरूको सुरक्षामा खटिएका निजी सुरक्षा अधिकृत (पीएसओ) हरूलाई प्रहरी प्रधान कार्यालयमा बोलाइएको छ।
प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाका अनुसार उनीहरूलाई नियमित ब्रिफिङका लागि झिकाइएको हो। प्रहरीको सुरक्षा सेवा निर्देशनालय (सुसेनी) ले बुधबार बिहानै विभिन्न नेताका पीएसओहरूलाई तुरुन्त उपस्थित हुन आदेश दिएको थियो। एसएसपी श्यामकुमार महतोको नेतृत्वमा रहेको उक्त निर्देशनालयले विशेषगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूका पीएसओहरूलाई बोलाएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरी स्रोतका अनुसार नेताहरूको गतिविधि, सम्पर्क र योजनाको निगरानीका निम्ति पीएसओहरूलाई महत्वपूर्ण निर्देशन दिइँदैछ। झिकाइएका पीएसओहरूमध्ये केही अन्य दलका नेता र मन्त्रीहरूका पनि रहेको बुझिएको छ। यस कदमलाई भोलिको आन्दोलनका क्रममा उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौती र परिस्थितिको आकलनका रूपमा हेरिएको छ।
२०८२ जेष्ठ १४, बुधबार