काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनै पनि कानुनी वा प्रशासनिक झन्झटबिना न्यानो आतिथ्य प्रदान गर्न आग्रह गर्नुभएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादमा उहाँले पर्यटन क्षेत्रमा रहेका विद्यमान अवरोधहरू हटाई सुशासन र विकासलाई साहसिक ढंगले अगाडि बढाउन व्यापक सुधारको आवश्यकतामा जोड दिनुभयो।
प्रधानमन्त्री ओलीले अध्यागमनमा यात्रुलाई अनावश्यक दुःख दिने, लगेज हराउने, र सीमानाकाहरूमा पर्यटकलाई प्रवेशमा अनेक बहाना बनाउने जस्ता कार्यहरूको अन्त्य हुनुपर्नेमा विशेष जोड दिनुभयो। उहाँले सार्वजनिक खरिद ऐन तथा अन्य नियमहरूमा व्यवसाय र काम गर्न कुनै बाधा भएमा परिवर्तन गर्न सरकार तयार रहेको पनि स्पष्ट पार्नुभयो।
प्रधानमन्त्री ओलीले पूर्वाधार विकाससँगै पर्यटन वृद्धिको प्रयास भइरहेको बताउनुभयो। उहाँले सम्पर्क सञ्जाल विस्तार गरिएको र नेपाल अब दुर्गम नरहेको उल्लेख गर्नुभयो। “जुम्लाको स्याउ काठमाडौँ राम्ररी आएर बजार पाउन थालेको छ। चीनसँग १४ नाका खोलिएको छ। किमाथांका नाकामा पुल बन्दैछ,” उहाँले भन्नुभयो, “केही पनि नभएका ठाउँमा एकै पटक सबैथोक गर्नुपर्दा समय लाग्छ। केही पनि भएन भनेर आत्मश्लाघा लिनुपर्ने अवस्था छैन। सम्बन्धित निकायबाट हुनुपर्ने सहजीकरणका काममा कुनै कमजोरी नगरी समृद्धिको आधारका रूपमा पर्यटनलाई अघि बढाऔँ।”
उहाँले नेपालको आकाश सुरक्षित भए पनि युरोपको आकाश नेपालका लागि अझै प्रतिबन्धित (कालो सूची) राखिएकोमा चिन्ता व्यक्त गर्दै शर्तबमोजिम हवाई क्षेत्रका दुई निकायलाई अविलम्ब अलग्याउन र अन्य मापदण्ड पनि पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो।
छलफलमा काठमाडौँ–मुग्लिन–पोखरा, बुटवल–पाल्पा–पोखरा, काठमाडौँ–धुलिखेल लगायतका मुख्य सडकहरू समयमै निर्माण, सीमानाकाहरूबाट पर्यटकको प्रवेशमा सहजता, युरोपेली मुलुकमा सीधा हवाई सम्पर्क, विश्वमञ्चमा नेपालको ब्रान्डिङ, पर्यटन प्रवर्द्धनको गुरुयोजना निर्माण, नेपाल वायुसेवा निगमको पुनःसंरचना, सगरमाथा संवादपश्चातको कार्यान्वयन, गुणस्तरीय लगानी, जनशक्ति व्यवस्थापन, कर तथा मुद्रा सटहीमा सहजता, हिमालयहरूको सरसफाइ, डिजिटल क्षमता विस्तार र अन्तर निकाय समन्वय वृद्धि गर्नुपर्नेमा जोड दिइयो।
संघका सम्बन्धित मन्त्रीहरू, प्रदेश सरकारका पर्यटन हेर्ने मन्त्रीहरू, उच्चाधिकारीहरू र निजी क्षेत्रका प्रतिनिधि सहभागी उक्त कार्यक्रममा पर्यटन क्षेत्रमा विद्यमान समस्या र समाधानका उपायबारे निजी क्षेत्रसमेतबाट प्राप्त सुझावको आधारमा तयार पारिएको कार्ययोजना प्रस्तुत गरिएको थियो।
२०८२ जेष्ठ १२, सोमबार