काठमाडौँ : सत्ताको केन्द्र सिंहदरबारमा आइतबार साँझ सत्ता सहकार्यका प्रमुख दल, नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूको आकस्मिक बैठक भएको छ। प्रधानमन्त्रीको सचिवालयले यो बैठकलाई ‘समसामयिक राजनीतिक घटनाक्रम’ को छलफलका रूपमा प्रस्तुत गरेको छ, तर पछिल्लो प्रचण्ड आलोचना र गृहमन्त्री लेखकको राजीनामा मागको चर्को बहसले यस बैठकको उद्देश्यप्रति गहिरो प्रश्न खडा गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहित सत्ता सहकार्यका प्रमुख अनुहारहरू—गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा—सिंहदरबारको बैठक कोठामा भेला भएका थिए।
सत्तारुढ गठबन्धनको यो बैठक खासगरी गृहमन्त्री लेखकको ‘अध्यागमन सेटिङ काण्ड’ ले झन् संकटमा फसेको सरकारलाई कसरी जोगाउने भन्ने संकटमोचन कसरतका रूपमा देखिएको छ। सत्तापक्ष भित्रैबाट लेखकको राजीनामा माग उठिरहेका बेला, सत्ता साझेदार दलबीचको यो छलफललाई संकट व्यवस्थापनभन्दा पनि सत्ता निरन्तरताको सौदाबाजीको रूपमा बुझ्न थालिएको छ।
गृहमन्त्री लेखकको अध्यागमन प्रकरणले सरकारको नैतिकता र विश्वसनीयता गम्भीर प्रश्नमा पारेको छ। सडकमा लेखकको राजीनामा माग चर्कँदै गर्दा, सिंहदरबारमा भएको यो बैठकले बाह्य रूपमा ‘राजनीतिक समसामयिकता’ को आवरण ओढे पनि, भित्री रूपमा सत्ता बचाउने समीकरणमा केन्द्रित भएको देखिन्छ।
यसबारे प्रतिपक्ष र आलोचकहरू भन्छन् – सरकार जनभावनाको सम्मानभन्दा पनि सत्ताको स्वार्थमा केन्द्रित छ। यसैबीच नेपाली कांग्रेस र एमाले नेतृत्वको यो ‘सत्ता निरन्तरता बैठक’ ले सरकारको नैतिक दायित्वभन्दा सत्ता सन्तुलनलाई बढी प्राथमिकता दिएको आभास गराएको छ।
कांग्रेस र एमालेको यो गठबन्धनमाथि जनस्तरबाट नैतिक दबाब र सडक आन्दोलनको तापक्रम चुलिँदै गर्दा, सिंहदरबारको यो छलफलले सरकारको असल गर्भरमेन्स वा सत्ता स्वार्थको प्रतिस्पर्धामा कुन पक्ष जित्ने हो – हेर्न बाँकी छ।
२०८२ जेष्ठ ११, आईतबार