+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मन्थनमा प्रचण्ड: जनताका लागि कार्यकारी राष्ट्रपति र नयाँ क्रान्तिको उद्घोष

अत्रिदेव खबर
२०८२ जेष्ठ ११, आईतबार

काठमाडौं: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालै सम्पन्न मध्यपहाडी लोकमार्गकेन्द्रित ‘जनजागरण अभियान’ मार्फत पार्टीलाई सशक्त बनाउने र जनताका लागि काम गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्। बैतडीबाट सुरु भई पोखरामा टुङ्गिएको यस अभियानमा उनले कार्यकर्ता, पूर्वलडाकु र सहिद परिवारका गुनासो सुनेका छन् भने युवाहरूलाई ‘मर्निङ वाक’ को सन्देश पनि दिएका छन्।

प्रचण्डको यो यात्रा फुर्सदको मात्र थिएन, बरु कमजोर बनेको पार्टीलाई पुनर्जीवित गर्ने र आफ्नो प्रमुख राजनीतिक एजेन्डालाई फेरि स्थापित गर्ने अवसर पनि थियो। एक समय माओवादीको ‘बटमलाइन’ रहेको पूर्णसमानुपातिक र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको मुद्दालाई उनले पुनः सशक्त रूपमा उठाएका छन्।

पोखरामा आयोजित पहिलो चरणको अभियानको अन्तिम कार्यक्रममा उनले सरकारको आलोचनाभन्दा पनि यही एजेन्डामा जोड दिए। “हामीले पहिल्यैदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ भन्दै आएका थियौँ,” उनले भने, “तर कांग्रेस-एमालेको असहमतिका कारण सम्भव भएन। हामी यही कुरामा अडिएर बस्दा संविधानै नबन्ने र देश झन् ठूलो भूमरीमा पर्ने खतरा देखिएपछि हामीले ‘नोट अफ डिसेन्ट’ लेखेर १० वर्षपछि यो संविधानको समीक्षा गर्ने बेलामा हामी यो विषय फेरि उठाउने छौं, जनताको बीचमा लाने छौं भनेका हौँ।”

यो भनाइले प्रचण्ड अब जनताको सहमति अनुसार संविधान संशोधन गरेर देशलाई प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा पुर्‍याउन जनतालाई प्रशिक्षित गर्ने अभियानमा लाग्ने स्पष्ट संकेत दिएका छन्। उनले निर्वाचन प्रणालीको संशोधनको आवश्यकतामाथि पनि जोड दिएका छन्।

अभियानको सफलता र पार्टी एकताको संकेत
प्रचण्डले मध्यपहाडी जनजागरण अभियान पार्टीले सोचेभन्दा बढी विशाल भएको र यो माओवादी केन्द्रको मात्र नभई आम नेपाली जनताको अभियान बनेको दाबी गरेका छन्। “जहाँ गयो त्यहाँका जुनसुकै पार्टीका स्थानीय सरकारका नेतृत्व होस्, उनीहरूले हाम्रो यो अभियानलाई स्वागत अभिनन्दन गर्न कोही पछि परेनन्,” उनले भने, “बरु प्रतिस्पर्धाजस्तो भयो कसले राम्रो गर्ने, कसले राम्रो अभिनन्दन गर्ने भनेर। यो जनताको अभियान, राष्ट्रको अभियान, सबैको साझा अभियान बन्न पुग्यो।”  उनका अनुसार, यो अभियान सम्बन्ध विस्तारसँगै पार्टी एकताको अभियान जस्तो बन्न पुगेको छ। तराई-मधेसमा मात्रै आठ/दश हजार विभिन्न दलका नेता-कार्यकर्ताहरू अभियानमा जोडिन आएको प्रचण्डले बताए। यो अभियान पार्टीका लागि एउटा ऊर्जा बनेको र नयाँ आर्थिक क्रान्ति तथा नयाँ अभियान चलाउनुपर्ने आवश्यकता महसुस गराएको उनको भनाइ छ।

समग्रमा, प्रचण्डको यो मध्यपहाडी यात्राले माओवादी पार्टीलाई जनतासँग जोड्ने, आफ्नो राजनीतिक एजेन्डालाई पुनर्जीवित गर्ने र देशमा एउटा नयाँ क्रान्तिको आवश्यकता औंल्याउने प्रयास गरेको देखिन्छ। के प्रचण्डले अब जनताको साथ लिएर कार्यकारी राष्ट्रपतिको मुद्दालाई मूर्तरूप दिन सक्लान्?

२०८२ जेष्ठ ११, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ ११, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ