बैतडी : आज बिहान बैतडी जिल्ला सदरमुकाम खलङ्गालाई केन्द्रबिन्दु बनाएर १२ मिनेटको अन्तरालमा दुई शक्तिशाली भूकम्प गएका छन्। सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार, बिहान १:४८ बजे ५.१ रेक्टर स्केलको पहिलो भूकम्प गएको थियो भने त्यसको लगत्तै बिहान २ बजे ३.७ रेक्टर स्केलको अर्को भूकम्प महसुस गरिएको थियो।
लगातार दुईपटक गएको भूकम्पको तीव्र धक्काले बैतडीका स्थानीय घरबाहिर निस्कन बाध्य भएका थिए। मध्यरातमा आएको भूकम्पका कारण स्थानीयमा त्रास फैलिएको छ।
बैतडी मात्र नभई यस भूकम्पको धक्का दार्चुला, बझाङ र डडेल्धुरा लगायत पश्चिम नेपालका अधिकांश जिल्लाहरूमा समेत महसुस गरिएको भूकम्प मापन केन्द्रका प्रमुख तिमल्सिनाले जानकारी दिए।
हालसम्म भूकम्पबाट भएको क्षतिको कुनै विवरण प्राप्त भइसकेको छैन। स्थानीय प्रशासनले क्षतिको आकलन गर्ने कार्य सुरु गरेको बताइएको छ। भूकम्पपछि उत्पन्न परिस्थितिको थप विवरण आउन बाँकी छ।
२०८२ जेष्ठ ९, शुक्रबार