काठमाडौँ : गभर्नर नियुक्तिमा देखिएको राजनीतिक अन्योल अन्ततः सत्ता गठबन्धनका शीर्ष नेताहरूबीचको सहमतिपछि हटेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन्, जसमा गभर्नर नियुक्तिको निर्णय हुने पक्का भएको छ।
यसअघि सोमबारका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक दलहरूबीच सहमति नजुटेपछि स्थगित गरिएको थियो। खासगरी नेपाली कांग्रेस र एमालेबीच गभर्नरको नाममा मतभेद चुलिएको थियो। तर, मंगलबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच करिब एक घण्टा लामो निर्णायक वार्तापछि सहमति जुटेको हो।
सहमति अनुसार कांग्रेस निकट अर्थविद् विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने तयारी भएको छ। मन्त्रिपरिषद् बैठक त्यसकै औपचारिक घोषणा गर्न बसेको हो।
सत्तारूढ गठबन्धनमा देखिएको तनाव गभर्नरको नियुक्तिसँगै शान्त हुँदै गएको संकेतको रूपमा यो बैठकलाई हेरिएको छ। सत्ता साझेदार दलहरूबीच सहकार्य कायम राख्न ओली–देउवा संवाद निर्णायक बनेको बताइएको छ।
राजनीतिक समन्वय र समझदारीको प्रतीक बनेको यो सहमति गभर्नरको नियुक्तिलाई मात्र नभई सत्ता सन्तुलनलाई पनि मजबुत बनाउने विश्लेषकहरूको धारणा छ।
२०८२ जेष्ठ ६, मंगलबार