काठमाडौं : राजधानीको समग्र विकास यात्रामा अन्तर्राष्ट्रिय सहकार्य थप सशक्त बनाउने उद्देश्यले जापानका राजदूत मायदा टोरु र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच विशेष भेटवार्ता सम्पन्न भएको छ।
राजधानीको शहरी स्वरूपलाई दीर्घकालीन दृष्टिकोणले पुनः परिभाषित गर्ने उद्देश्यसहित दुवै पक्षबीच सहकार्यका सम्भावनाहरूमा विस्तृत छलफल भएको जापानी दूतावासले जानकारी दिएको छ। छलफलको केन्द्रमा काठमाडौंको पूर्वाधार सुधार, वातावरणीय व्यवस्थापन, ऐतिहासिक सम्पदाको संरक्षण तथा शहरी जीवनस्तर उन्नयन जस्ता महत्वपूर्ण मुद्दाहरू रहेका थिए।
जापानले काठमाडौंको दरबार स्क्वायरमा वातावरणीय सुधार, ढुंगेधारा र सडक संरचनाको पुनर्निर्माण तथा मार्शल आर्ट जस्ता सांस्कृतिक गतिविधिहरूमा सहयोग गर्दै आएको उल्लेख गर्दै, भेटले दुई देशबीचको विकास साझेदारीलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
शहरी सौन्दर्यकरण र ऐतिहासिक सम्पदाको पुनर्जीवनका क्षेत्रमा जापानसँगको सहकार्यले काठमाडौंको ‘स्मार्ट सिटी’ परिकल्पनालाई थप ऊर्जा दिने संकेत भेटवार्ताबाट झल्किएको छ।
२०८२ बैशाख १८, बिहिबार