टिकापुर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको जागरण टोली सोमबार साँझ कैलाली आइपुगेको छ। माओवादी केन्द्रको ‘जनतासँग माओवादी’ विशेष अभियान अन्तर्गत सुरु गरिएको तराई–मधेश हुलाकी मार्ग जागरण अभियानको सिलसिलामा टोली टीकापुर नगरपालिकाको सत्ती कर्णाली पुलमा भव्य स्वागतका साथ प्रवेश गरेको हो।
स्थानीय बासिन्दा, कार्यकर्ता तथा नेता–कार्यकर्ताको उत्साहपूर्ण उपस्थितिमा गरिएको स्वागतले अभियानले जनतालाई माओवादीसँग अझ घनिष्ठ रूपमा जोड्ने संकेत गरेको छ। स्वागत कार्यक्रमसँगै माओवादी केन्द्रले सुदूरपश्चिममा जनसम्पर्क र जनसमर्थन थप विस्तार गर्ने अभियानलाई गती दिएको छ।
जागरण टोलीले टीकापुर नगरपालिका–७, ८ र ९ स्थित सूर्यपुर र झुंगा बस्तीमा राति बिताउने कार्यक्रम तय गरेको छ। मंगलबार झुंगा बस्तीमा आयोजना हुने विशाल जनसभालाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्नेछन्। त्यसपछि टोली भजनी नगरपालिका हुँदै कैलारी गाउँपालिका–५, बैजपुरतर्फ अघि बढ्नेछ।
माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष हरिराम चौधरी उत्सवका अनुसार, अभियानको क्रममा शहीद परिवारसँग भेटघाट, जनसभा सम्बोधन लगायतका कार्यक्रमहरू तय गरिएको छ। उनले बताए अनुसार, यो अभियानले माओवादी र जनताको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ।
२०८२ बैशाख १५, सोमबार