काठमाडौ : नेपाल शिक्षक महासंघको आइतबार बसेको आकस्मिक बैठकले आन्दोलनमा नियोजित घुसपैठ हुँदा केही स्थानमा झडपको स्थिति सिर्जना भएको निष्कर्ष निकालेको छ। सरकार चार सातादेखि आन्दोलनरत शिक्षकहरूको मागप्रति उदासीन देखिएको भन्दै महासंघले आन्दोलन अझ तीव्र र सशक्त बनाउने कडा निर्णय गरेको छ।
चैत २० गतेदेखि निरन्तर आन्दोलनमा रहेका शिक्षकहरूले आज २७ औं दिन काठमाडौं केन्द्रित प्रदर्शन जारी राख्दै छन्। शिक्षामन्त्रीले शनिबार महासंघका प्रतिनिधिसँग वार्तामा पेशागत मागहरूप्रति सकारात्मक पहल हुने आश्वासन दिएका थिए र केही विषय मन्त्रिपरिषद्बाट पारित गरिने प्रतिबद्धता जनाएका थिए। तर शिक्षक महासंघले मन्त्रिपरिषद्को स्पष्ट निर्णय नआएसम्म कुनै आश्वासन स्वीकार नगर्ने र आन्दोलन जारी राख्ने अडान दोहोर्याएको छ।
शिक्षकहरूको आन्दोलनका कारण अहिले कक्षा १२ को परीक्षा, भर्ना अभियान तथा विद्यालयको नियमित पठनपाठन गम्भीर रुपमा प्रभावित भएको छ। शिक्षा क्षेत्रलाई थप अस्तव्यस्त हुनबाट जोगाउन सरकारले अबिलम्ब गम्भीर कदम चाल्न महासंघले चेतावनी दिएको छ।
यदि सरकार अझै पनि मौन बस्ने हो भने आन्दोलनको स्वरूप झन् उग्र हुने र त्यसबाट उत्पन्न जिम्मेवारी राज्य आफैंले वहन गर्नुपर्ने महासंघले स्पष्ट पारेको छ।
२०८२ बैशाख १५, सोमबार