काठमाडौ : सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको अविश्वास र आरोप–प्रत्यारोप चरम उत्कर्षमा पुगेको छ। संसदभित्र र बाहिर एक–अर्कामाथि झम्टिन थालेका यी दुई दलका नेताहरूको वाकयुद्धले सत्ता समीकरण नै हल्लिएको छ।
शनिबार राति थाइल्यान्डबाट उपचार सकेर फर्केका कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच दुई घण्टासम्म गुपचुप छलफल भएको खुलेको छ। छलफलपछि ओलीले कांग्रेसका नेतामाथि तीव्र प्रहार गर्दै प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच रहेको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्।
आइतबार मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनमा ओलीले कांग्रेस महामन्त्री गगन थापाको नाम नलिए पनि परोक्ष कटाक्ष गर्दै ‘छिर्के दाउ, षड्यन्त्र र झेली खेल’ को नांगो आरोप लगाए। ‘धतुङ्गाएर बोलेको प्रमाणित गर्न सक्छन्? दया लाग्छ,’ भन्दै ओलीले गगन थापालाई नै निशानामा ताने।
प्रतिनिधिसभामा पनि सत्ता साझेदारहरूबीच चर्काचर्की देखियो। एमाले सांसद पदम गिरीले २५ करोड तस्करी प्रकरणमा सरकारका निकायहरूले अनुसन्धान कमजोर गरेको आरोप लगाए। गिरीले कांग्रेस नेता रमेश लेखक नेतृत्वको गृह मन्त्रालयमाथि सीधा प्रश्न उठाउँदै दोषीहरू उम्किएको दाबी गरे।
संसदमा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकारको नौ महिनाको कार्यसम्पादनप्रति असन्तोष व्यक्त गरे भने एमाले सांसद गोकर्ण विष्टले सरकार ढल्न लागेको हल्लालाई अस्थिरता पैदा गर्ने षड्यन्त्रको संज्ञा दिए। विष्टले ‘सत्तामा हो कि प्रतिपक्षमा, चिन्न गाह्रो भएको’ भन्दै कांग्रेस नेताहरूको व्यवहारमाथि व्यंग्य गरे।
गभर्नर नियुक्ति किचलो, शिक्षक आन्दोलन, विपक्षी दल माओवादी केन्द्रका नेता प्रचण्डको सरकारविरोधी आक्रमण र गभर्नर सिफारिस समितिका सदस्य विजय भट्टराईको राजीनामाले सत्ता समीकरणमा थप तनाव सिर्जना गरेको छ।
यसैबीच, बालुवाटार स्रोतका अनुसार देउवा र ओलीबीच सत्ता सम्हाल्नका लागि विवादास्पद विषयहरूमा न्यूनतम सहमति कायम गर्ने प्रयास भएको छ।
तर, कांग्रेसभित्रै असन्तोष बढ्दो छ। पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्रीको नेतृत्व कमजोर भएको भन्दै जनअपेक्षा पूरा नभएको गुनासो पोखे। शिक्षक आन्दोलन, गभर्नर नियुक्ति र सुशासनको सवालमा ओली असफल भएको आरोप महतले सार्वजनिक रुपमा लगाएका छन्।
यथास्थितिमा सत्ता गठबन्धनको भविष्य अन्योलमा परेको देखिन्छ। भित्री तिक्तता र अविश्वासबीच सत्ता समिकरण टिकाउने कि नयाँ समीकरण बन्ने भन्ने प्रश्नले थप पेचिलो मोड लिएको छ।
२०८२ बैशाख १५, सोमबार