सुखड : कैलाली, घोडाघोडी नगरपालिका–१, सुखडमा बिगत तीन दशकदेखि संस्कारसहितको गुणस्तरीय र जीवनोपयोगी शिक्षा प्रदान गर्दै आएको न्यु स्टार इङ्ग्लिस बोर्डिङ्ग स्कुलले मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको अवसरमा एक विशेष भावनात्मक कार्यक्रम आयोजना गरेको छ।
आफ्ना जीवनका पहिलो गुरु, संरक्षक र माया–ममताको अथाह स्रोत आमाप्रति श्रद्धा प्रकट गर्न विद्यार्थीहरूले अनौठो तरिका अपनाएका थिए। कार्यक्रममा विद्यार्थीहरूले आफ्ना आमाहरूलाई टीका लगाई, ढोग गर्दै संस्कारसहित मिठाइ खुवाएर आमाप्रतिको अमूल्य प्रेम र सम्मान व्यक्त गरेका थिए।
विद्यालयका संस्थापक प्रिन्सिपल परशुराम भण्डारी (पीआर) ले भन्नुभयो, “आमा भनेको निःस्वार्थ प्रेमको उदाहरण हुन्। आमाको आशीर्वाद बिना जीवन अपूर्ण हुन्छ। विद्यार्थीहरूमा मातृभक्तिको भावना जागृत गराउन तथा संस्कारसहितको शिक्षालाई व्यवहारमा उतार्न यो कार्यक्रम आयोजना गरिएको हो।”
कार्यक्रमका क्रममा आमा र सन्तानबीचको आत्मीय सम्बन्ध झनै प्रगाढ भएको देखिन्थ्यो। आमाको आँखा रसाएका थिए भने विद्यार्थीहरूको अनुहारमा गर्व र प्रेम झल्किएको थियो।
न्यु स्टार इङ्ग्लिस बोर्डिङ्ग स्कुलले शिक्षासँगै संस्कार र जीवन मूल्यहरूलाई जोड्दै विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान दिइरहेको स्पष्ट देखिएको छ।
२०८२ बैशाख १४, आईतबार