काठमाडौ :नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अब धेरै दिन नटिक्ने ठोस निष्कर्ष निकालेको छ। आज सम्पन्न संसदीय दलको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारूढ गठबन्धनभित्रको तीव्र अन्तर्विरोधले सरकार ढल्ने संकेत स्पष्ट भएको बताएका छन्।
बैठकमा सहभागी एक सांसदका अनुसार, “शेरबहादुर देउवा थाइल्याण्डमा हुनुहुन्छ। उहाँ फर्किएपछि कांग्रेससँग औपचारिक संवाद हुनेछ। जानुअघि सामान्य तहको संवाद भइसकेको छ।”
प्रचण्डले सरकारमा सामेल हुनेभन्दा बाहिर बसेर समर्थन गर्ने रणनीतिलाई प्राथमिकता दिने धारणा बैठकमा राखेका थिए। यद्यपि कांग्रेस पक्षबाट सरकारमै ल्याउने प्रारम्भिक संकेत आएको बताइएको छ।
एमालेभित्रको गहिरो मतभेद, गभर्नर नियुक्ति लगायतका विवाद र बजेट निर्माणमा देखिएको द्विविधि अवस्थाले सरकार आफैं अस्थिर बन्दै गएको माओवादीको निष्कर्ष छ। नेताहरूले भने, “सरकार हामीले होइन, उनीहरूकै स्वार्थ र विरोधाभाषले ढल्दैछ। बजेटसम्म पुग्दा अवस्था निर्णायक हुनेछ।”
प्रचण्डले शिक्षा विधेयक र समग्र राष्ट्रिय राजनीति विषयमा प्रतिपक्षहरूसँग संवाद गरेर साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
नेता प्रचण्डको चेतावनी अनुसार, “ओली सरकार लामो समय टिकेमा अलोकतान्त्रिक कदम बढ्नेछ, संविधानकै अस्तित्व संकटमा पर्न सक्छ। त्यसैले समयमै वैकल्पिक राजनीतिक संयोजन आवश्यक छ।”
यसैबीच, कांग्रेस कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले पनि ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै देउवा फर्किएपछि नयाँ मोड लिने संकेत दिएका छन्। राजनीतिक तापक्रम चुलिँदै जाँदा सरकार परिवर्तनको सम्भावना दिन प्रतिदिन बलियो बन्दै गएको छ।
२०८२ बैशाख ११, बिहिबार