काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैबाट नेतृत्वविरोधी धारणाहरू सार्वजनिक हुन थालेको भन्दै कडा आपत्ति जनाएका छन्। पार्टीको ७६औं स्थापना दिवसमा ओलीले तीन प्रमुख विषय उठाउँदै पार्टीभित्रको अन्तरविरोध र नेतृत्वप्रतिको असहमतिको संकेत गरे।
उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अभिव्यक्तिलाई लक्षित गर्दै “२०/२५ वर्ष पर्खनूस्, म अझै बाँच्नेछु” भनी चुनौती दिए भने, शिक्षामन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराईको योग्यता प्रश्नमा चर्को प्रतिक्रिया जनाए। ओलीले भट्टराईलाई समर्थन गर्नेहरूलाई ‘विरोधीको पक्षपोषक’ भने।
उक्त मञ्चमै रहेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भट्टराईको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएकी थिइन्, जसले ओलीको टिप्पणीलाई थप सन्देहको नजरले हेरिएको छ। एमालेभित्र नेतृत्वलाई प्रश्न गर्ने पंक्तिमा महिलाहरू अग्रपंक्तिमा देखिन थालेको छ — चाहे त्यो विद्यादेवी भण्डारी हुन्, विद्या भट्टराई, अष्टलक्ष्मी शाक्य, वा गत असोजमा दानको जग्गामाथि असहमति जनाएका बिन्दा पाण्डे र उषाकिरण तिमल्सेना नै किन नहुन्।
एमालेभित्र फरक मत राख्ने महिला नेतृहरूलाई कारवाहीको सिलसिला चलेको छ भने, नेतृत्वप्रति तर्कसहितको प्रश्न उठाउने संस्कृतिको सुरुआत महिलाबाट भइरहेको प्रष्ट देखिन्छ। यो अवस्था संयोग मात्र नभई नेतृत्व र सत्ताको संघर्षको नयाँ मोड भएको विश्लेषण गरिएको छ।
२०८२ बैशाख ११, बिहिबार