+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सर्वोच्च अदालतमै हुनेछ पल शाह प्रकरणको छिनोफानो

अत्रिदेव खबर
२०८० पौष १, आईतबार


काठमाडौँ : अभिनेता पल शाह भनिने पूर्णविक्रम शाहविरुद्ध दायर भएको जबरजस्ती करणीको मुद्दामा सफाइ हुने सुरुमा जिल्ला अदालत र पछि पुनरावेदन परेको उच्च अदालत पोखराको फैसला नमिलेको भन्दै सरकारी पक्ष दोहोर्‍याई पाऊँ भन्ने निवेदन लिएर गत साउन ८ गते सर्वोच्च अदालत पुग्यो । जिल्ला र उच्च अदालतको फैसलामा प्रमाणको उचित मूल्याङ्कन नभएको भन्दै महान्यायाधिवक्ता कार्यालय दोहोर्‍याएर हेर्ने निस्सा पाऊँ भन्दै सर्वोच्च अदालत पुगेको थियो ।
जबरजस्ती करणीको मुद्दाबाट सफाइ दिई बाल यौन दुरुपयोग ठहर गर्ने नवलपुर जिल्ला अदालत र बलात्कारको कसुरबाट सफाइ दिने तनहुँ जिल्ला अदालतको फैसलामा चित्त नबुझाएर सरकारी वकिल कार्यालय पुनरावेदनको निवेदन लिएर उच्च अदालत पोखरा पुगेको थियो । उच्च अदालत पोखराले बलात्कारको कसुरबाट सफाइ दिने जिल्ला अदालतको फैसला सदर गर्दै नवलपुर जिल्ला अदालतले ठहर गरेको बाल यौन दुरुपयोगको कसुरबाट पनि शाहलाई सफाइ दिएको थियो ।

जिल्ला अदालत र उच्च अदालत पोखराले प्रमाणको उचित मूल्याङ्कन नगरी पीडित होस्टाइल भएकै कारण सफाइ दिएको नमिलेको भन्दै उक्त मुद्दालाई दोहोराएर हेरिपाउनुपर्ने महान्यायाधिवक्ता कार्यालयको जिकिर छ । गत साउन ८ गते सर्वोच्च अदालतमा महान्यायाधिवक्ता कार्यालयको तर्फबाट सर्वोच्चमा निवेदन दर्ता भएको थियो ।
सो निवेदन मङ्सिर २२ गतेको पेशीमा चढेको थियो । पेशीमा चढेको दिन नै सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले दोहोर्‍याएर हेर्ने निस्सा प्रदान गर्‍यो । निस्सा प्राप्त भएसँगै अब यो मुद्दाको पुनरावेदनको रूपमा सर्वोच्च अदालतमा सुनुवाइ हुनेछ । पुनरावेदनको निस्सा दिने न्यायाधीशहरुले भने यो मुद्दामा फरक पर्न सक्ने आदेश दिएकाले उनीहरूले हेर्न मिल्दैन ।

२०८० पौष १, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८० पौष १, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ