+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुदूरपश्चिम प्रदेश सभामा ‘भदौ २३ र २४’ को बाछिटा: छानबिनको मागदेखि शीर्ष नेताको रिहाइको मुद्दाले तात्यो सदन

अत्रिदेव खबर
२०८२ चैत्र २४, मंगलबार

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको बैठकमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र  हिंसात्मक घटना र त्यसपछिको राजनीतिक घटनाक्रमलाई लिएर जनप्रतिनिधिहरूले कडा रोष प्रकट गरेका छन्। प्रमुख प्रतिपक्ष दलका नेतादेखि सत्तापक्षका सचेतकसम्मले पछिल्लो शान्ति सुरक्षाको अवस्था, नेताहरूको पक्राउ र प्रदेश सरकारको उदासीनतामाथि प्रश्न उठाउँदा सदन निकै उत्तेजित बनेको छ।
छानबिन र सरकारको ‘कुम्भकर्ण’ शैली: खगराज भट्ट
प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी नेकपाका संसदीय दलका नेता खगराज भट्टले भदौ २३ र २४ गतेको घटनालाई गम्भीरतापूर्वक लिँदै उच्चस्तरीय छानबिनको माग गर्नुभएको छ। २३ गतेको घटनाले २४ गतेको भयावह परिस्थिति निम्त्याएको हो कि होइन भन्ने कुरा स्पष्ट हुनुपर्ने उहाँको जिकिर थियो।

​सरकारको आलोचना गर्दै भट्टले भन्नुभयो, “जेनजी आन्दोलन चर्कँदा केन्द्रमा सरकार कतै देखिएन, प्रदेशमा त झन् कुम्भकर्ण जस्तो सुतेको सरकार देखियो। यो हाम्रो लोकतन्त्रका लागि दुःखद हो।” उहाँले २४ गते भएको विध्वंसमा संलग्न जोसुकै भए पनि अपराधीको कठघरामा उभ्याइनुपर्नेमा जोड दिनुभयो। बिचौलिया र दलालसँग मिलेर योजना बेचेको आरोप लगाउँदै भट्टले प्रदेशको राजधानी समेत टुंगो लगाउन नसक्ने सरकारको औचित्यमाथि प्रश्न उठाउनुभयो।
​ओली र लेखकको पक्राउप्रति एमालेको आपत्ति
​नेकपा एमालेका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले संघीय सरकारले प्रतिशोधका आधारमा शीर्ष नेताहरूलाई पक्राउ गरेको भन्दै कडा आपत्ति जनाउनुभयो। एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई विना कसुर थुनामा राखेर विधिको शासनको अन्त्य गरिएको उहाँको आरोप थियो।
रावलले भन्नुभयो, कुनै कसुर प्रमाणित नभई हाम्रा पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई थुनामा राखिनु मानवअधिकारको उल्लंघन हो, उहाँहरूलाई तत्काल रिहा गरियोस्।” उहाँले संसद र सर्वोच्च जलाउनेहरूले राष्ट्रको जिम्मेवारी बहन गर्न नसक्ने बताउँदै, आफ्नो घर जलाउन लगाउनेहरूको सूचना आफूसँग रहेको खुलासा समेत गर्नुभयो। ग्रामीण क्षेत्रका जनता समस्यामा रहेको बेला सरकारले विकास र समृद्धिका कामलाई तीव्रता दिनुपर्ने उहाँको सुझाव थियो।
​कांग्रेसको आक्रोश: “भाउजू भनेर अगाडि-पछाडि लाग्नेहरू कहाँ गए?”
​नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले सदनमा भावुक र आक्रोशित हुँदै आफ्नै पार्टीको आन्तरिक र सुरक्षा कमजोरीमाथि प्रश्न उठाउनुभयो। पार्टी सभापति शेरबहादुर देउवा र आरजू राणा देउवामाथि आक्रमण हुँदा पनि निकट मानिने नेताहरूले मौनता साधेकोमा उहाँले आश्चर्य व्यक्त गर्नुभयो।
​रोष्ट्रमबाटै प्रश्न गर्दै धामीले भन्नुभयो, “मेरो नेताको घरमा आक्रमण भयो, उहाँ घाइते हुनुभयो। तर हिजोसम्म ‘भाउजू’ भन्दै अगाडि-पछाडि हिँड्नेहरू आज किन एक शब्द बोल्दैनन्?” उहाँले पनि केपी शर्मा ओली र रमेश लेखकलाई किरिया बसेको बेला पक्राउ गरिएकोमा सरकारको आलोचना गर्नुभयो। साथै, रास्वपा सांसदहरूतर्फ लक्षित गर्दै उहाँले ‘घण्टी बजाएर आएकाहरू अहिले शंख बजाउँदै सत्तामा पुगेको’ भन्दै व्यङ्ग्य गर्नुभयो।

​बैठकमा उठेका प्रश्नहरूले सुरक्षा र राजनीतिक स्थिरताको चुनौतीलाई उजागर गरेको छ। विपक्षीले सरकारको अस्तित्वमाथि प्रश्न उठाइरहँदा सत्तापक्षका नेताहरूले पनि सुरक्षा संयन्त्र र नेतृत्वको सुरक्षामा देखिएको कमजोरीप्रति चिन्ता व्यक्त गरेका छन्। सिंहदरबार, सर्वोच्च अदालत र प्रदेशका संरचनामाथि भएको प्रहारलाई सांसदहरूले राष्ट्रकै अपमानको रूपमा व्याख्या गरेका छन्।
​प्रदेश सरकारले खर्च बढाउन नसकेको, थन्किएका विधेयकहरू अगाडि नबढाएको र जनताको विश्वास जित्न नसकेको आरोप खेपिरहेको बेला यो सदनको बहसले आगामी दिनमा सरकारलाई थप दबाब पुग्ने देखिएको छ।

२०८२ चैत्र २४, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ चैत्र २४, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ