+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नयाँ सभामुखले पहिलो बैठक चलाएकै दिन विपक्षी दल आक्रामक

अत्रिदेव खबर
२०८२ चैत्र २३, सोमबार

काठमाण्डौ : झण्डै दुईतिहाइको सरकार छ । नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) छन् । १८१ (सभामुखबाहेक) सांसद राष्ट्रिय स्वतन्त्र पार्टीसँग छन् । सरकार बनाउन १३८ सिट आवश्यक पर्नेमा रास्वपा एक्लैसँग प्रचण्ड बहुमत छ ।

यस्तोमा सदनमा प्रतिपक्षी दलको आवाज मधुरो हुनु स्वाभाविक नै हो । तर, सभामुखमा डोलप्रसाद (डीपी) अर्यालले पहिलो बैठक चलाएकै दिन प्रतिपक्षी दलहरूले सरकारलाई चेतावनी दिए । उनीहरूले प्रश्न सोध्ने मात्र होइन, कमजोर भनेर खेलाँची नगर्न पनि चेतावनी दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले १८५ मिलियन डलर ऋण स्वीकार गर्ने सरकारको निर्णयमा प्रश्न उठाइन् । उनले कुन संसदीय समिति वा आवश्यकतामा ऋण लिएको हो ? भन्दै जवाफ दिन सरकारसँग माग गरिन् ।

यसको आवश्यकता किन पर्‍यो ? सरकारले सदनबाटै जवाफ दिनुपर्ने उनको भनाइ छ । ‘हामी सरकारसमक्ष सोध्न चाहन्छौँ– कुन संसदीय समिति, कुन नीतिगत बहस र कुन आवश्यकता प्राथमिकीकरण मूल्यांकनका आधारमा यो आकारको निर्णय लिइयो ? हाम्रो संसद अझै शिशु अवस्थामा छ । संसदीय समिति, उपसमितिहरू बनेका छैनन् । यस्तो अवस्थामा सरकारको निर्णय पारदर्शी नभएको कुरा स्पष्ट छ,’ उनले भनिन् ।

सरकारले डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टलगायतका काम गर्न ऋण स्वीकार गरेको छ । ‘सबैभन्दा महत्त्वपूर्ण प्रश्नः उक्त ऋण हामीले माग गरेका थियौँ वा हामीलाई प्रस्ताव आएको थियो ?,’ ओलीले प्रश्न गरिन् ।

उनले बजेट माग्न जाने सांसदको समस्या समाधान गर्न डिजिटल पोर्टल बनाइदिन पनि अनुरोध गरिन् । सांसद ओलीले मध्यपूर्वको द्वन्द्वले नेपाली भान्सामा समेत असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । साथै, उनले पेट्रोलियम पदार्थमा सकारले जनतालाई सहुलियत दिन उनले माग गरिन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रतिपक्षी दललाई आगोको झिल्कोसँग तुलना गरे । उनले सत्तापक्षको संख्या जति नै धेरै भए पनि सदन विपक्षको हुनुपर्ने बताए ।

केसीले सदनलाई सत्तापक्षको होइन, विपक्षीको बनाएर सन्तुलन कायम राख्न सभामुखलाई आग्रह गरे । ‘आगोको झिल्को जतिसुकै सानो भए पनि त्यो आगोकै झिल्को हुन्छ,’ केसीले भने, ‘सदनमा सत्तापक्ष जतिसुकै ठूलो भए पनि सदन विपक्षको हो,’ केसीले भने ।

उनले सदन कसैको बन्दी हुन नहुने बताउँदै सदनलाई स्वतन्त्र भएर काम गर्ने वातावरण निर्माण गर्न सभामुख डीपी अर्याललाई आग्रह गरे ।

नेकपाले भन्यो– देश चलाउने नाममा स्टन्ट नहोस्

बैठकमा नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले पछिल्लो समय वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाए । उनको अभिव्यक्ति गृहमन्त्री सुधन गुरुङको कार्यशैलीलक्षित भए पनि नाम भने लिएनन् । दुलालले स्टन्ट र ट्रायल गरेर देश नबन्ने धारणा राखे ।

दुलालले सरकार एक्सनमा जानु सकारात्मक भए पनि स्टन्ट गरेर समय बर्बाद नगर्न सुझाव दिए । दुलालले बालेन नेतृत्वको मन्त्रिपरिषद्‌सँग राज्यको समय ट्रायल गरेर बर्बाद नगर्न मागसमेत गरे । साथै, उनले सदनलाई बहुमतको आधार देखाएर अल्पमतलाई पेल्ने ठाउँ नबनाउन चेतावनी दिए ।

रास्वपाले पाएको झण्डै दुईतिहाइ एआई र अल्गोरिदमको खेल होइन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले प्रतिनिधिसभामा रास्वपाले पाएको सिट जनअसन्तोष र परिवर्तनप्रतिको तीव्र चाहनाको अभिव्यक्ति भएको बताइन् । उनले रास्वपाले पाएको सिट एआई र अल्गोरिदमको खेल नभएको बताइन् ।

‘आजको यो सदन केवल अंकगणितीय बहुमतको परिणाम होइन, यो जनचेतनाको पुनर्जागरणबाट जन्मिएको सदन हो । रास्वपाले प्राप्त गरेको झण्डै दुईतिहाइ बहुमत आकस्मिक घटना वा एआई र अल्गोरिदमको खेल होइन, बरु लामो समयदेखि सञ्चित जनअसन्तोष र परिवर्तनप्रतिको तीव्र चाहनाको अभिव्यक्ति हो भन्ने कुरा म यस सदनमा राख्न चाहन्छु । त्यसैले पनि हामीले यसपटक जनताको मतको पूर्ण सम्मान गर्दै अगाडि बढ्नु पर्नेछ,’ उनले बैठकमा भनिन् ।

उनले राष्ट्रहितमा राजनीतिक दलहरूबीच सहकार्य अनिवार्य रहेको बताइन् । उनले राजनीति आरोप प्रत्यारोपका लागि नभई परिवर्तनका लागि गर्नुपर्ने बताइन् । ‘राष्ट्रहितमा सहकार्य अनिवार्य छ,’ डाँगीले भनिन्, ‘राजनीति आरोप प्रत्यारोपको मात्रै होइन, परिवर्तनका लागि गर्नुपर्ने बेला आएको छ ।’

भूमिका निष्पक्ष रहनेछ सभामुख अर्याल

सभामुख अर्यालले संसद्‌मा आफ्नो भूमिका निष्पक्ष रहने बताए । ‘सबैको समन्वयमा संसदको गरिमा बढ्नेमा दुविधा छैन । मेरो निष्पक्ष भूमिका रहनेछ,’ उनले भने ।

सभामुखको पदलाई उच्च बनाउन भूमिका खेल्ने पनि उनले बताए । सभामुखको रूपमा तटस्थ, निष्पक्ष र समन्वयकारी हुने पनि उनले बताए । पुराना ऐन बदलेर संशोधन गर्ने र नयाँ बनाउने सन्दर्भमा सदन काम गर्न तत्पर हुने उनले बताए ।

२०८२ चैत्र २३, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ चैत्र २३, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ