सुखड : कैलालीमा एक युवालाई वडाध्यक्षले भौतिक आक्रमण गरेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष वीरबहादुर साउद ले आफूमाथि ढुङ्गा प्रहार गरेको सोही ठाउँमा सुनिल खड्काले आरोप लगाएका छन् । आफूले विकाससम्बन्धी प्रश्न गरेपछि आफूमाथि आक्रमण भएको उनले बताएका छन् ।
‘वडाध्यक्षलाई मैले तपाइको कार्यकालमा किन विकास भएन अब धेरै समय छैन कहिले विकास गर्नुहुन्छ भनेर प्रश्न गरेको थिए, उहाँले केहीबेरपछि तँ बढ्ता बोल्छस् भनेर टाउकोमा ढुङ्गाले हान्नु भयो’ उनले भने ।
आफूलाई जेनजी आन्दोलनमा संलग्न भएको र वडा कार्यालय जलेको भन्दै आक्रमण गर्न लगाएको उनले आरोप लगाएका छन् ।
‘यो जेनजीको आन्दोलन गर्ने मान्छे हो यसले गर्दा हाम्रो वडा पनि जल्यो यसलाई मार्नुपर्छ भनेर २ जनालाई मेरो पछाडि लगाइयो ’ घाइतेले इलाका प्रहरी कार्यालय सुखडमा भनेका थिए ।
घाइतेका दाजु हिक्मत खड्काले पनि भाइ माथि आक्रमण गर्ने वडाध्यक्षलाई कारबाही हुनुपर्ने बताएका छन् ।
‘विकासको लागि मेरो भाइले कुरा उठाएको थियो । त्यही विषयमा कुटपिट भयो । दोषीलाई कारबाही हुनुपर्छ हुनुपर्छ ’ उनले भने ‘यस्तो गुण्डागर्दी अब चल्दैन । ’
वडाध्यक्षले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी परेको छ । । वडाध्यक्ष पक्राउ परिसकेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । वडाध्यक्ष विरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी दर्ता भएको उनले जानकारी दिए ।
‘वडाध्यक्षविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी आएको छ हामीले वडाध्यक्षलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौँ ’ उनले भने ।
सामान्य विवादपछि आक्रमण
सोमबार लठुवा खोलामा तीन समूह पिकनिक खान पुगेका थिए । वडाध्यक्षसहितको एउटा समूह, सुनिल खड्काको एउटा समूह र अर्को एउटा समूह पिकनिकमा थिए ।
एक जना प्रत्यक्षदर्शीका अनुसार वडाध्यक्ष केहीबेर खड्काको समूहमा आएका थिए। खड्का समूहले नै तयार मासु सुवाए । मदिरा पनि सेवन गरे ।
‘उहाँ (वडाध्यक्ष )आउनु भयो । त्यहाँ राम्रै सम्मान भएको थियो । मासु र मदिरा पनि सेवन भयो ’ ती प्रत्यक्षदर्शीले भने, ‘केहीबेर राम्रै कुरा भएको थियो पछि सुनिलले प्रश्न गरेपछि वडाध्यक्षले आक्रमण गर्नुभएको हो । ’
ती प्रत्यक्षदर्शीका अनुसार तीन वर्षसम्म पनि विकास नभएको भन्दै सुनिलले वडाध्यक्षलाई प्रश्न गरेका थिए । त्यो बेला वडाध्यक्ष मौन रहे र निस्किए ।
केहीबेरपछि केही युवा लिएर वडाध्यक्ष त्यो समूहमा गएको र आक्रमण गरेको ती युवाले बताएका छन् । अहिले वडाध्यक्षको आक्रमणबाट सुनिलको टाउको ८ टाका लागेको छ । उनको उपचार पनि जारी छ ।
२०८२ आश्विन ७, मंगलबार