+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कालीगण्डकीमा बाढी: तटीय क्षेत्र र शालिग्राम शिला डुबानमा

अत्रिदेव खबर
२०८२ श्रावण १८, आईतबार

पर्वत : लगातारको वर्षाका कारण पर्वत, म्याग्दी, मुस्ताङ र बागलुङमा बढेको पानीको बहावले कालीगण्डकी नदीमा यस वर्षकै सबैभन्दा ठूलो बाढी आएको छ। बिहानैदेखि नदीको बहाव उच्च विन्दुमा पुगेको र गेजरिडर कृष्णप्रसाद सुवेदीका अनुसार नदीको सतह ६ मिटर ४० सेन्टिमिटरको उचाइमा बगेको छ, जुन यस वर्षको सबैभन्दा बढी मापन हो।

नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बस्तीहरू उच्च जोखिममा परेका छन्। पर्वतको जलजला गाउँपालिकाअन्तर्गतका बगरफाँट, वारीबेनी, मिलनचोक, लस्ती, खनियाँघाट, कुश्मा नगरपालिकाको मालढुङ्गा, नयाँपुल, मोदीवेणी, फलेवास नगरपालिकाको जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीवेणी बजार लगायतका क्षेत्रहरू जोखिममा परेका छन्। स्थानीय व्यापारी विष्णु न्यौपानेले विगत १६ वर्षअघि २०६६ सालमा आएको बाढीले तीन दर्जन घरपरिवार विस्थापित बनेको घटना सम्झँदै यस वर्ष पनि बाढीको त्रासले सताएको बताए।

बाढीको बहाव यति उच्च छ कि यसले पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा रहेको विश्वकै ठूलो शालिग्राम शिलासमेत डुबानमा परेको छ। शिला डुबेपछि सो क्षेत्रका पुजारी र पण्डितहरू चिन्तित बनेका छन्। शालिग्राम शिलाको संरक्षणका लागि बनाइएको तटबन्ध र अन्य पूर्वाधारसमेत बाढीले भत्काएको पुजारी तिलक पराजुलीले जानकारी दिए।

कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा सेतीवेणी बजार डुबानको जोखिममा पर्ने गरेको छ। बाँधका सबै ढोका खोलिएका कारण बाढीको बहाव कम हुने सम्भावना रहेको बताइएको छ। यद्यपि, कालीगण्डकी र सेतीखोलाको संयुक्त बहावले गर्दा सेतीवेणी बजारका करिब दुई सय व्यापारी र सर्वसाधारण जोखिममा रहेका छन्।

२०८२ श्रावण १८, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ श्रावण १८, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ