+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रचण्डको दाबी: माओवादीले इतिहास बनायो, भविष्यको खाका पनि कोर्छ

अत्रिदेव खबर
२०८२ अषाढ ३०, सोमबार

काठमाडौं : प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले मुलुकमा ऐतिहासिक परिवर्तन ल्याएको र भविष्यको स्पष्ट खाका कोर्ने हिम्मत र दूरदृष्टि आफूसँग मात्रै रहेको दाबी गरेका छन्।

सोमबारको संसद बैठकलाई विशेष सम्बोधन गर्दै प्रचण्डले गणतन्त्र स्थापना, संविधान निर्माणदेखि ऊर्जा क्षेत्रमा हासिल उपलब्धिसम्मका विषयमा माओवादी नेतृत्वको योगदानको स्मरण गराए। “हामी इतिहास बनाएर आएका हौं र भविष्यको खाका कोर्ने हिम्मत र साहस पनि हामीसँग मात्रै छ,” प्रचण्डले भने, “जनताको सपना पूरा गर्ने जिम्मेवारी पनि हामीले लिएका छौं। संविधानले नेपाली जनताको अधिकार अझै संस्थागत गर्नुपर्दछ। उपेक्षित, उत्पीडित जाति, वर्ग, भूगोल र समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न संशोधन आवश्यक छ।”

उनले शासकीय स्वरूप, निर्वाचन प्रणाली, प्रदेशको नाम, सीमांकन, वित्तीय संघीयता, समावेशिता र सामाजिक न्यायका विषयमा अग्रगामी संशोधनका लागि दुईतिहाइ बहुमत जुटाउनुपर्ने आवश्यकता औंल्याए। “यदि सरकारसँग हिम्मत छ भने प्रमुख प्रतिपक्षका नाताले त्यो बहुमत जुटाउने जिम्मेवारी म लिन्छु,” उनले थपे। प्रचण्डले गणतन्त्रको भविष्यमाथि खतरा सरकारको कार्यशैलीबाट आएको दाबी समेत गरे। “यदि गणतन्त्रमाथि कतैबाट खतरा छ भने त्यो राजावादी या अन्य कसैबाट होइन, सरकारकै कार्यशैलीबाट हो,” उनको भनाइ थियो।

उनले सत्तापक्षलाई जनताको धैर्यको सीमा नाघ्न नदिन सचेत गराउँदै चेतावनी दिए, “तपाईंहरू अझै पनि संख्याको दम्भमा जे गरे पनि हुन्छ भन्ने सोचले कुशासनको तानाशाही गाडा कुदाउँदै हुनुहुन्छ। यो बन्द हुनु पर्दछ, अन्यथा जनताको धैर्यको सीमा टुट्नेछ।”

२०८२ अषाढ ३०, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ ३०, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ