काठमाडौँ : नेपालको वर्तमान राजनीतिको मूलधार (establishment) आफ्नो दल नै भएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कडा दाबी गरेका छन्। उनले आफ्नो दलको सांसद संख्या कम भए पनि संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र विभिन्न उत्पीडित समुदायको अधिकारको सन्दर्भमा माओवादी नै निर्णायक शक्ति भएको स्पष्ट पारेका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत प्रचण्डले व्यक्त गरेको यो भनाइले नेपाली राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ। उनले कानुनी र संख्यात्मक हिसाबले माओवादी तेस्रो स्थानमा भए पनि वर्तमान राजनीतिक परिवर्तनको मुख्य शक्ति माओवादी नै भएको जोड दिएका छन्।
प्रचण्डले आफ्नो सामाजिक सञ्जाल पोस्टमा लेखेका छन्, ‘हामी अहिले कानुनी र सङ्ख्याको हिसाबले सदनमा तेस्रो स्थानमा छौँ। तर, हाम्रो जतिसुकै सिट हुँदा पनि, अहिले ३२ सिट भए पनि वा पहिले २४० हुँदा पनि, अथवा अझै कम भएपनि आजको नेपाली राजनीति, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान, महिला, दलित, आदिवासी, जनजाति, मजदूर, किसान, मधेसी, मुस्लिम सबै उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी नै हो।’
उनले आफ्नो दललाई ‘संस्थापन पक्ष’ दाबी गर्दै, कांग्रेस र एमालेलाई ‘प्रतिपक्ष’ को संज्ञा दिएका छन्। उनको भनाइअनुसार कांग्रेस र एमाले यो संविधान र लोकतान्त्रिक गणतन्त्रका आधिकारिक पक्ष होइनन्। यद्यपि, प्रचण्डले कुन सन्दर्भमा यस्तो दाबी गरेका हुन् भन्ने विषय भने खुलाइएको छैन।
प्रचण्डको यो भनाइले आगामी दिनमा नेपाली राजनीतिको दिशा र दलहरूबीचको शक्ति सन्तुलनमा कस्तो प्रभाव पार्ला, त्यो भने हेर्न बाँकी छ।

२०८२ अषाढ २५, बुधबार